असार ३० गते २०८२
07:28: AM
असार ३० गते २०८२
07:28: AM

बेलायतको केन्टमा भव्य रूपमा साक्मुरा वदेमा र उभौली याक्वा सेवा हुने

जेठ ८ गते २०८२
12:46 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम ज्ञानु फुरुम्बो चरपे, बेलायत

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा बेलायतको केन्टस्थित आस्फोर्डमा यही आउँदो ३१ मे २०२५, शनिवारका दिन भव्य रूपमा साक्मुरा लुङहि वदेमा, आप्लुङगेन्न ताङसेप चोमेन तथा उभौली याक्वा सेवा आयोजना हुने भएको छ।

संघले बेलायतभरि छरिएर बसेका किरात धर्मावलम्बीहरूको सहभागितामा प्रत्येक वर्ष विभिन्न स्थानहरूमा सामूहिक धार्मिक र सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको छ। तर यस वर्ष पहिलोपटक युकेभरिका किरात धर्मावलम्बीहरूलाई एउटै स्थल—आस्फोर्ड, केन्टमा—भेला गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममार्फत किरात मुन्धुम, संस्कार, परम्परा र समाज सुधारक राष्ट्रिय विभूति लिङदेन महागुरु फाल्गुनन्दको सत्य मार्गदर्शनलाई आत्मसाथ गर्दै विशेष नाम्धुङ, लाधुङ सेमि सेवा पनि गरिने किरात साम्यो माङसेवा साबा पान्जुभोका अध्यक्ष मंगलसिंह लिङदेनले जानकारी दिएका छन्। उनका अनुसार विश्व शान्ति, मानव एकता र सकल प्राणी रक्षाका लागि सामूहिक प्रार्थना पनि गरिनेछ।

बर्षेनि सञ्चालन हुँदै आएको साक्मुरा लुङहि वदेमा, ताङसेप चोमेनउभौली याक्वा सेवा किरात धर्म तथा साहित्य उत्थान संघ युकेको प्रमुख वार्षिक कार्यक्रममध्ये पर्दछन्। संघका अध्यक्ष राजेन्द्र खिम्दिङका अनुसार यसपटकको कार्यक्रम थप व्यवस्थित, समावेशी र भव्य हुने अपेक्षा गरिएको छ।

"यस वर्ष हामीले सामाजिक, धार्मिक र जातीय संघसंस्थाहरुलाई पनि औपचारिक निमन्त्रणा पठाएका छौं," अध्यक्ष खिम्दिङले भने, "सामूहिक सहभागितामार्फत हाम्रो मौलिक परम्परा र चिनारीलाई बेलायतमा अझ मजबुत बनाउने प्रयास गरिएको छ।"

वि.सं. २०६६ (सन् २००९) मा स्थापना भएको किरात धर्म तथा साहित्य उत्थान संघ युकेले त्यस यता बेलायतभरि किरात धर्म, मुन्धुम र संस्कार अनुसार विविध धार्मिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। विशेषगरी महागुरु फाल्गुनन्दको जन्मजयन्ती, उभौली–उधौली पर्व, सामूहिक माङगेन्ना सेवा तथा नाम्धुङ सेमि सेवा संघका प्रमुख कार्यक्रम हुन्।

यी कार्यक्रमहरूले बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका, तर भेटघाट हुन नपाएका किरात धर्मावलम्बीहरूलाई आपसी सञ्जाल विस्तार गर्ने अवसर पनि प्रदान गर्दै आएका छन्। कार्यक्रममा सहभागी हुनेहरूले एकआपसमा आफ्नो संस्कार, भाषा, पहिचान र परम्पराबारे अनुभव साटासाट गर्न पाउने भएकाले समुदायको एकता र संस्कृतिक संरक्षणमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

आगामी ३१ मे मा हुने सो कार्यक्रम किरात धर्ममा आस्था राख्ने सबैका लागि एकता, श्रद्धा र साझा संस्कृतिक गौरवको प्रतीक बन्ने आयोजकले विश्वास लिएका छन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo