श्रावण १ गते २०८३
02:27: AM
श्रावण १ गते २०८३
02:27: AM

हिमाली अर्थतन्त्र सुदृढीकरणमा फक्ताङ्लुङको पहल: याक–चौँरी र छुर्पीमा लगानी

माघ २९ गते २०८२
7:51 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले हिमाली भेगको परम्परागत पेशालाई व्यावसायिक रूप दिन लक्षित कार्यक्रम अघि बढाएको छ। गाउँपालिकाले याक, चौँरी, नाक पालन तथा छुर्पी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने योजना कार्यान्वयनमा ल्याएको हो।

हिमाली क्षेत्रमा सदियौँदेखि जीवनयापनको आधार रहँदै आएको पशुपालन व्यवसायलाई आधुनिक र दिगो बनाउने लक्ष्यसहित कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ। विशेषगरी वडा नम्बर ६ लेलेप र वडा नम्बर ७ ओलाङ्चुङगोलामा कार्यक्रम केन्द्रित गरिएको छ। यी वडाहरू चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका उच्च हिमाली बस्ती हुन्, जहाँका अधिकांश बासिन्दाको मुख्य पेशा याक र चौँरी पालन नै हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार कार्यक्रम सञ्चालनका लागि स्थानीय रूपमा सक्रिय फर्म तथा संस्थालाई छनोट गरिएको छ। याक, नाक र चौँरी प्रवर्द्धनका लागि घुन्सा याक तथा चौँरी फर्म र फक्ताङ्लुङ चौँरीपालन फर्म चयन भएका छन्। यस्तै, छुर्पी प्रवर्द्धन कार्यक्रमअन्तर्गत ओलाङ्चुङगोला कृषि तथा याक पालन फर्म छनोट गरिएको छ।

यस कार्यक्रमका लागि प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँ याक, नाक र चौँरी प्रवर्द्धनमा खर्च गरिनेछ भने छुर्पी प्रवर्द्धनतर्फ सङ्घीय सरकारबाट प्राप्त सात लाख रुपैयाँ किसानलाई अनुदानस्वरूप उपलब्ध गराइनेछ। अनुदान पाउने किसानले ५० प्रतिशत लागत साझेदारी गर्नुपर्ने प्रावधान राखिएको छ, जसले कार्यक्रमप्रति किसानको प्रतिबद्धता र उत्तरदायित्व दुवै सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार हिमाली भेगमा पशुपालन गर्दै आएका किसानको आयआर्जन बढाउने र स्थानीय उत्पादनलाई बजारमुखी बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको हो। “पशुपालन व्यवसायलाई सशक्त बनाउँदै स्थानीयको जीवनस्तर उकास्नु हाम्रो लक्ष्य हो,” उनले बताए।

चार हजार २०० मिटर उचाइमा रहेको याङ्मा, तीन हजार ४७५ मिटर उचाइको घुन्सा र तीन हजार २०० मिटर उचाइमा अवस्थित ओलाङ्चुङगोला जस्ता उच्च हिमाली बस्तीहरूमा याक र चौँरी पालन केवल पेशा मात्र होइन, जीवनशैलीकै हिस्सा हो। यस्तो भौगोलिक विकटतामा वैकल्पिक रोजगारीका अवसर न्यून भएकाले गाउँपालिकाको यो पहलले स्थानीय अर्थतन्त्र सुदृढ गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo