ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा चालु आर्थिक वर्षको नौ महिनामा दुई करोड ९६ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म उक्त रकम संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनसार नौ महिमाको अवधिमा कुल दुई करोड ९६ लाख ४२ हजार ६०० रुपैयाँ भेटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । समितिका अनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी भेटी मङ्सिर महिनामा र सबैभन्दा कम भदौमा संकलन भएको छ । मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपैयाँ र भदौमा ९ लाख ९७ हजार रुपैयाँ भेटी संकलन भएको छ । यस्तै चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपैयाँ, कात्तिकमा ३४ लाख ४८ हजार ५०० रुपैयाँ, असोजमा ३३ लाख ८२ हजार रुपैयाँ, पुसमा २४ लाख २५ हजार रुपैयाँ र साउनमा १० लाख ३९ हजार रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ । पाथीभरा दर्शनका क्रममा भक्तजनले चढाउने तथा दान गर्ने भेटी रकम समितिले संकलन गर्दै आएको छ । पछिल्लो समय उक्त विवरण मासिक रूपमा सार्वजनिक गर्ने अभ्याससमेत सुरु गरिएको समितिले जनाएको छ । समितिका अनुसार नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बंगालबाट पनि पाथीभरा दर्शनका लागि भक्तजन आउने गरेका छन् ।….