तमोर कोरिडोरका पुल निर्माणमा भएको ढिलाइ यात्रुहरूको दैनिक यात्रा मात्र कठिन बनाइरहेको छैन, यसले स्थानीय बासिन्दाको जीवनस्तरमै प्रत्यक्ष असर पारेको छ। वर्षायाममा खोला तर्ने जोखिम, कृषि उपज बजारसम्म पुर्याउन नसक्ने समस्या र आपतकालीन अवस्थामा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउने कठिनाइ अहिलेको प्रमुख चुनौती बनेको छ।
चीन र भारतलाई जोड्ने महत्त्वाकांक्षी परियोजना तमोर कोरिडोर सडक योजनाअन्तर्गत मुलघाट–गणेशचोक खण्डमा लामो समयदेखि सवारी सञ्चालन भए पनि पुल निर्माणमा प्रगति अत्यन्त सुस्त छ। हालसम्म कुल ११० किलोमिटरमध्ये ५४ किलोमिटर सडक कालोपत्रे भए पनि प्रमुख खोलामा पुल नबन्दा यात्रा असुरक्षित बन्न पुगेको छ। विशेषगरी साँवा खोलाबाहेक अन्य खोलामा अस्थायी डाइभर्सनको भरमा यात्रुहरू आवतजावत गर्दै आएका छन्।
हेंवा खोलामा पुल निर्माणको डिजाइन बने पनि काम सुरु भएको छैन। यसले पाँचथरको फिदिमतर्फ छोटो दूरीमा पर्ने हिलिहाङ र याङवरक गाउँपालिकाका बासिन्दा तथा ताप्लेजुङ जाने यात्रुहरूलाई बढी मर्का पारेको छ। बाढीले करिब एक किलोमिटर सडकै बगाएपछि मार्ग परिवर्तन गर्नुपर्ने बाध्यता थपिएको छ।
यस्तै, बघुवा, खम्बुवा, रघुवा, छरुवा र नावा खोलामा आंशिक प्रगति देखिए पनि निर्धारित अवधिभित्र सम्पन्न हुने सम्भावना न्यून छ। कतिपय स्थानमा पिल्लर मात्रै बनेका छन् भने कतिपयमा कामै सुरु भएको छैन। ठेक्का पाएका कम्पनीले ढिलासुस्ती गर्नुमा बजेट अभाव पनि एक कारण बनेको पुल सेक्टर कार्यालय धरानले जनाएको छ। करिब चार करोड रुपैयाँ अझै निकासा नभएकाले व्यवसायीहरूलाई दबाब दिन नसकिएको प्राविधिक प्रमुख दीपक झाको भनाइ छ।
यस ढिलाइको प्रत्यक्ष मार स्थानीय समुदायले खेपिरहेका छन्। किसानहरूले उत्पादन भएको अदुवा, अलैंची, मकैजस्ता बाली बजारमा पु¥याउन नसक्दा घाटा बेहोर्नुपरेको छ। बिरामीलाई अस्पताल पुर्याउने क्रममा खोला तर्दै जोखिम मोल्नुपरेको स्थानीयले गुनासो गरेका छन्। विद्यालय जाने विद्यार्थीदेखि लिएर दैनिक यात्रामा निस्कने सर्वसाधारणसम्म पुल निर्माण नहुनुका वास्तविक पीडित बनेका छन्।
तमोर कोरिडोर सडक कार्यालयका सूचना अधिकारी जयराम अधिकारीका अनुसार सडक वर्षभर सञ्चालनयोग्य भए पनि पुल नहुँदा यसको महत्व कम भएको छ। “सडक छ तर पुल छैन, त्यसैले यात्रुहरू सुरक्षित रूपमा यात्रा गर्न सकिरहेका छैनन्,” अधिकारीले भने।
पुल निर्माणमा भएको ढिलाइ अब यात्रु र स्थानीय जीवनका लागि केवल असुविधा मात्र नभई दीर्घकालीन विकास योजनामै प्रश्न बनेको छ। ठेक्का, बजेट र व्यवस्थापनमा देखिएको कमजोरी तत्काल सम्बोधन नभए यो कोरिडोर ‘द्रुतमार्ग’ भन्दा पनि ‘कष्टमार्ग’ बन्ने चिन्ता बढेको छ।RSS
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
