लिम्बुवान नागरिक समाज यूकेको अन्तरक्रिया सम्पन्न, येहाङ लावती सम्मानित
Phaktanglung Darpan
चैत्र ८ गते २०८२
7:01 pm
फक्ताङलुङ दर्पण
ज्ञानु फुरुम्बाे चरपे /uk
आस्फोर्ड, लिम्बुवान नागरिक समाज यूकेको आयोजनामा स्वर्गीय इमान सिंह चेम्जोङ तथा लिम्बुवान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा इतिहासविद्, साहित्यकार तथा बौद्धिक व्यक्तित्व येहाङ लावतीको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन ज्ञानु फुरुम्बोले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै लावतीले लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि र वर्तमान राजनीतिक अवस्थाबारे विस्तृत विश्लेषण प्रस्तुत गर्नुभयो। उहाँले विशेषगरी खस–गोर्खा राज्यको विस्तारसँगै याक्थुङ लिम्बु समुदायमाथि परेको प्रभावबारे चर्चा गर्दै परम्परागत राजनीतिक संरचना, सांस्कृतिक पहिचान र भूमि अधिकारमा गम्भीर असर परेको उल्लेख गर्नुभयो। ऐतिहासिक सन्धि, प्रशासनिक पुनर्संरचना र राज्यको नीतिगत हस्तक्षेपका कारण समुदायको स्वायत्तता कमजोर बन्दै गएको उहाँको भनाइ थियो।
लिम्बुवान आन्दोलन लामो समयदेखि चल्दै आए पनि पहिचानवादी राजनीतिक दलहरूबीचको असहजता, विभाजन र एकीकृत नेतृत्वको अभाव नै अधिकार प्राप्तिको मुख्य बाधक बनेको उहाँले धारणा व्यक्त गर्नुभयो। एउटै मुद्दा र साझा एजेन्डा हुँदाहुँदै पनि एकताविहीनताका कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको उहाँको विश्लेषण थियो।
त्यसैगरी, लावतीले स्वर्गीय इमान सिंह चेम्जोङको योगदानबारे पनि प्रकाश पार्नुभयो। चेम्जोङले याक्थुङ लिम्बु समुदायको ऐतिहासिक, सांस्कृतिक, भाषिक तथा राजनीतिक पहिचानलाई अभिलेखीकरण र प्रकाशनमार्फत स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो। “यदि इमान सिंह चेम्जोङ नभएको भए याक्थुङ लिम्बुहरूको इतिहास, भाषा र संस्कृतिको खोज आजको स्तरमा सम्भव नहुने थियो,” उहाँले भन्नुभयो। लिम्बु–गोर्खा युद्ध, ऐतिहासिक सन्धि तथा समुदायको यात्रालाई उजागर गर्दै चेम्जोङले चेतना अभिवृद्धि र पहिचानप्रति गर्व जगाउन महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागीहरूले विभिन्न जिज्ञासा तथा प्रश्नहरू राख्दै अन्तरक्रियालाई थप जीवन्त बनाएका थिए। कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूमा संघीय लोकतान्त्रिक मञ्च यूके, संघीय लिम्बुवान सामाजिक मञ्च यूकेका महासचिव सुरेन्द्र थेबे, किरात याक्थुङ चुम्लुङ यूकेका केन्द्रीय सदस्य टंक येङदेन, किरात याक्थुङ थामन्दिङ माः चुम्भोका महासचिव शुभ नेम्बाङ, किरात याक्थुङ चुम्लुङ शाखा आस्फोर्डका सचिव लालहाङ थलङ, किरात धर्म साहित्य उत्थान संघ यूकेका उपाध्यक्ष केवाहाङ चेम्जोङ, सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्डका निवर्तमान अध्यक्ष डम्बर सिंगक तथा युवा सांस्कृतिक अभियन्ता शिखर सम्बाहाङ्फे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा निवर्तमान अध्यक्ष तुतु तुम्याहाङ र छत्र वनेमले स्वागत मन्तव्य राख्नुभएको थियो। सो अवसरमा लिम्बुवान नागरिक समाज यूकेले येहाङ लावतीलाई याक्थुङ लिम्बु भाषा, संस्कृति र साहित्यको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको थियो। सम्मानपत्र संस्थाका उपाध्यक्ष लाहाङ चेम्जोङले वाचन गर्नुभएको थियो।
विजय लुम्फुङवाको अध्यक्षतामा सम्पन्न कार्यक्रमले लिम्बुवानको ऐतिहासिक तथा समसामयिक विषयमा गहिरो विमर्श गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।