— निरन्तर वर्षासँगै प्रतिकूल मौसम भएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गरिने भएको छ।
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशभर उच्च सतर्कता अपनाउन सूचना जारी गरेपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
गाउँपालिकाले असोज ९ देखि ११ गतेसम्म विद्यालय बन्द गरी विद्यार्थीलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जारी गरेको सूचनामा प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।
विद्यालय बन्दसम्बन्धी निर्णय कार्यान्वयन गर्न गाउँपालिकाले सम्पूर्ण विद्यालय प्रशासनलाई जानकारी गराएको छ।
त्यस्तै, वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट जोगिन गाउँपालिकाभित्रका स्थानीय बासिन्दा, अभिभावक, शिक्षक, कर्मचारी तथा आगन्तुकलाई समेत सतर्क रहन आग्रह गरिएको छ। गाउँपालिकाले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै समयमै विपद् प्रतिकार्यको तयारी गर्नसमेत अनुरोध गरेको छ।
प्रतिकूल मौसमका समयमा सुरक्षित स्थानमा रहन तथा मौसमसम्बन्धी सूचना र स्थानीय प्रशासनबाट जारी हुने सूचनालाई ध्यान दिन गाउँपालिकाले सबैमा आग्रह गरेको छ।
ताप्लेजुङमा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा सम्भावित विपद्को जोखिम बढेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
