सुदूरपूर्व पाँचथर जिल्ला, फालेलुङ गाउँपालिका–३, ताङलेपामा एउटा सामान्य परिवारमा जन्मिएका राजेन्द्र केरुङ पछिल्लो समय नेपाली सांगीतिक आकाशमा चम्किन थालेका छन् । मीठो स्वर, सुमधुर गायन र विविध भाषाका गीत गाउन सक्ने खुबीका कारण उनी दर्शक तथा स्रोतामाझ लोकप्रिय बन्दै गएका छन् ।
सन् २०६७ देखि २०७३ सालसम्म भारतको इलाहाबाद विश्वविद्यालयमा बी.म्युज (B.Mus.) तथा संगीत प्रभाकरअन्तर्गत औपचारिक रूपमा शास्त्रीय संगीत अध्ययन गरेका केरुङ गायक मात्र नभई संगीतकार, सञ्चारकर्मी तथा समाजसेवी पनि हुन् । उनले पत्रकारितामा समेत स्नातक गरेका छन् । हाल उनी महाकुलुङ डटकम अनलाइनका सम्पादक तथा फालेलुङ टिभीका सञ्चालकका रूपमा कार्यरत छन् ।
पछिल्लो समय दर्शक तथा स्रोतामाझ चर्चा बटुल्न सफल केरुङ आजभोलि निकै व्यस्त देखिन्छन् । आफ्नो सांगीतिक यात्राका क्रममा बेलायत आइपुगेका उनी बेलायतवासी नेपाली दर्शक तथा स्रोताको मन जित्न सफल भएका छन् । विभिन्न भाषामा गीत गाउन सक्ने क्षमता भएका केरुङले आफ्नो सांगीतिक यात्रा कुलुङ भाषाको गीतबाट सुरु गरेका हुन् ।
यतिबेला उनी बेलायतका विभिन्न स्थानमा पुगेर आफ्ना सुमधुर स्वरमार्फत दर्शक तथा स्रोताहरूलाई मनोरञ्जन प्रदान गरिरहेका छन् । उनको प्रस्तुतिमा दर्शकहरू झुमिरहेका छन् भने उनले प्रशंसा र तालीसमेत बटुलिरहेका छन् । विशेषगरी पूर्वेली भाकामा सुमधुर स्वर दिन सक्ने क्षमता र गीतअनुसार भाव व्यक्त गर्ने उनको गायन शैलीले दर्शकलाई मन्त्रमुग्ध बनाउने गरेको छ । उनको सांगीतिक प्रस्तुतिको चर्चा पनि दिनप्रतिदिन बढ्दै गएको छ ।
केरुङले हालसम्म आधा दर्जन लिम्बू भाषाका, करिब एक दर्जन कुलुङ भाषाका तथा करिब एक दर्जन नेपाली भाषाका गीत गाइसकेका छन् । आफ्ना प्रियजन तथा सुन्दर परिवारलाई छाडेर सपनाको खोजीमा विदेशिन बाध्य नेपालीहरूको मन छुने उनका गीतले विशेष चर्चा पाएका छन् ।
‘विदेशिने रहर’, ‘मेमेङ घुम्न जाऊ’, ‘दुनियाँलाई भुली’, ‘बग्दै जाने’, ‘महाकुलुङ भूमिमाथि’, ‘महाकुलुङ गान’, ‘आम्बेपःज सुम्हात्लुङ’, ‘माङलाङ नु केलाङ’, ‘फुङ इनु सेवा’, ‘याक्थुङमा मिम’, ‘हुक्फाक्की सेवारो’, ‘सानिवा खाप्चाये’, ‘लाम्तुम्मा’, ‘लेत्तिचाईनुवा’, ‘केई खोलोङ सोम्छा’ तथा ‘ख्याली’ (चे चलचित्र) उनका परिचय स्थापित गराउने गीतहरूमध्ये हुन् । त्यसैगरी, ‘प्रदेशको नाम कोशी मान्दैनौँ’ बोलको गीतले पनि उनलाई चिनाउन सहयोग गरेको छ ।
उनको मीठो स्वरकै कारण ‘थेत्लङ’, ‘चे’ र ‘के’ गरी तीनवटा चलचित्रमा पृष्ठभूमि गायन गर्ने अवसरसमेत पाएका छन् । केरुङको पहिलो लिम्बू भाषाको गीतिसंग्रह ‘मिङ्सो’ वि.सं. २०७३ सालमा सार्वजनिक भएको थियो । गायनका अतिरिक्त उनले विभिन्न म्युजिक भिडियोमा मोडलका रूपमा पनि अभिनय गरेका छन् ।
लिम्बू समुदायका परम्परागत सांगीतिक विधा पालाम, ख्याली र हाक्पारेमा उनको विशेष दख्खल छ । यी विधामा उनले प्रस्तुत गरेको गायन शैली र सशक्त उपस्थितिका कारण उनी लोकप्रिय बन्दै गएका छन् । पालाम र ख्यालीमा उनको योगदान तथा प्रस्तुतिको चर्चा हुने गरेको छ ।
वि.सं. २०७० सालदेखि निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय केरुङ शास्त्रीय संगीत र पत्रकारिताका ज्ञाता हुन् । उनी प्रायः गिटारसँग रमाइरहेका भेटिन्छन् । संगीतमा सक्रिय रहँदारहँदै पनि आवश्यक परेको समयमा पत्रकारिताको धर्म निर्वाह गर्न पछि पर्दैनन् । उनी चुपचाप आफ्नो कर्ममा निरन्तर लागिरहने व्यक्तिका रूपमा परिचित छन् ।
केरुङ एक अब्बल गायक हुनुका साथै समाजसेवा र सामाजिक सुधारका कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनी हाल फक्ताङलुङ सांस्कृतिक मञ्चको केन्द्रीय सदस्यका रूपमा समेत आबद्ध छन् । ‘माङलाङ नु केलाङ’ (पालाम), ‘थक्मेप्पा फुङ’, ‘साम्याङ्फुङ’ र ‘हुक्फाक्की सेवारो’ जस्ता गीतमा उनले दिएको स्वर तथा म्युजिक भिडियोमा गरेको अभिनयले प्रशंसा बटुलेको छ । विभिन्न भाषाका गीतसंगीतमार्फत सम्बन्धित समुदायको भाषा, संस्कृति र मौलिक पहिचानलाई प्रवर्द्धन गर्न उनले निरन्तर योगदान दिँदै आएका छन् ।
हाल बेलायतको सांगीतिक यात्रामा रहेका केरुङले यहाँका नेपाली समुदायमाझ अझ नजिकबाट परिचित हुने र आफ्नो कला प्रस्तुत गर्ने चाहना व्यक्त गरेका छन् । उनको बेलायत भ्रमणका क्रममा आधा दर्जनजति सांगीतिक कार्यक्रम तय भइसकेको बताइएको छ । कुलुङ भाषाको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका केरुङले लिम्बू भाषाका गीतसंगीतमार्फत पनि आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् । नेपाली भाषाका गीतदेखि विभिन्न जातीय तथा सांस्कृतिक मौलिकतासँग जोडिएका गीतसम्म प्रस्तुत गर्न सक्ने उनको क्षमताले उनलाई बहुभाषिक गायकका रूपमा चिनाएको छ ।
नेपालबाट सुरु भएको उनको सांगीतिक यात्रा भारतको शास्त्रीय संगीत अध्ययन हुँदै बेलायतसम्म आइपुगेको छ । आफ्नो प्रतिभा, मेहनत र निरन्तर साधनाका कारण उनी आज नेपाली सांगीतिक क्षेत्रमा सम्भावनायुक्त कलाकारका रूपमा अगाडि बढिरहेका छन् । बेलायतमा आफ्नो सांगीतिक यात्रा पूरा गरी चाँडै मातृभूमि नेपाल फर्कने तयारीमा रहेका केरुङको आगामी सांगीतिक यात्रा अझ सफल र उपलब्धिमूलक बनोस् ।