ज्ञानु फुरुम्बो /चरपे युके
किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखाको वार्षिक साधारण सभा गत १२ सेप्टेम्बर २०२६ मा बेलायतको केन्टस्थित आसफोर्डमा सम्पन्न भएको छ।
आसफोर्डस्थित जोन वालिस एकाडेमीको सभाहलमा आयोजित सभामा शाखाले वर्षभरि सञ्चालन गरेका गतिविधि, कार्यक्रम तथा सांगठनिक अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो। शाखाका सचिव लालहाङ थलङ लिम्बूले सांगठनिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
त्यसैगरी, कोषाध्यक्ष सन्त फावेन लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनअनुसार हाल शाखाको कोषमा ३६ हजार पाउण्ड रहेको छ। आगामी दिनमा कोषलाई थप वृद्धि गर्दै संस्थाका गतिविधि तथा सामाजिक कार्यमा प्रभावकारी रूपमा परिचालन गर्ने बताइएको छ।
सभामा किरात याक्थुङ चुम्लुङ यूकेका पूर्वअध्यक्ष श्रीप्रसाद लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय निवर्तमान महासचिव विश्वासदीप तिगेला, केन्द्रीय सचिव शकुन नेम्बाङ, केन्द्रीय सदस्य टंक येङ्देन, लिम्बुवान नागरिक समाजका उपाध्यक्ष लाहाङ चेम्जोङलगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, किरात याक्थुङ चुम्लुङ थामेन्दिङमाका अध्यक्ष मनमाया नेम्बाङ, याक्थुङ वेन्सा चुम्भोका महासचिव सुरेन्द्र थेबे, कोषाध्यक्ष शुभ नेम्बाङ, सांस्कृतिक सचिव राजेन्द्र नेम्बाङ, सहसचिव शिखर सम्बाहाङफे तथा पूर्वअध्यक्ष सुदीप थोप्रालगायतको सहभागिता रहेको थियो।
सभामा उपस्थित सदस्य तथा अतिथिहरूले संस्थाका गतिविधिका क्रममा देखिएका कमजोरी र त्रुटिलाई सुधार गर्दै आगामी दिनमा संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, याक्थुङ–लिम्बू समुदायको पहिचानसँग जोडिएका भाषा, लिपि, साहित्य, संस्कृति तथा थातथलोका विषयमा निरन्तर बहस, छलफल र संरक्षणका कार्यक्रम अघि बढाउनुपर्ने धारणा व्यक्त गरिएको थियो।
सभाले संस्थाको आगामी कार्यदिशा र सांगठनिक गतिविधिलाई थप व्यवस्थित गर्दै समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रम किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखाका अध्यक्ष सुन्दर लिङथेप लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शाखाका सचिव लालहाङ थलङ लिम्बूले गरेका थिए।