कार्तिक १० गते २०८३
02:42: PM
कार्तिक १० गते २०८३
02:42: PM

फङ्फङदेन झरना मेलामा फुटबल विजेतालाई तीन लाखको अलैँची पुरस्कार

कार्तिक १० गते २०८३
1:49 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने तेस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा फुटबल प्रतियोगिताका विजेतालाई अलैँची पुरस्कार प्रदान गरिने भएको छ। पर्यटन प्रवर्द्धनसँगै जिल्लामा उत्पादित अलैँचीको बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले मेलामा अलैँचीलाई पुरस्कारका रूपमा राखिएको हो।

आयोजक फङ्फङदेन झरना पर्यटन विकास समितिले सोमबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो। समितिका अध्यक्ष विजयप्रकाश साँवा लिम्बूका अनुसार आगामी मङ्सिर २ देखि ६ गतेसम्म मेला आयोजना गर्ने तयारी गरिएको छ।

मिक्वाखोला गाउँपालिका–४, साँवामा अवस्थित फुङ्फुङ्गे झरनाको प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने र ताप्लेजुङमा उत्पादित अलैँचीको प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको अध्यक्ष साँवाले बताउनुभयो। पर्यटनसँगै लघुउद्यम तथा परम्परागत उत्पादनको बजारीकरण गर्ने र पर्यटनमैत्री गतिविधिमार्फत जिल्लाको समग्र पर्यटन विकासमा स्थानीयवासीलाई जागरुक बनाउने लक्ष्यसमेत रहेको उहाँले बताउनुभयो।

मेलामा फुङ्फुङ्गे झरनाको सौन्दर्य प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम, लघुउद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनको प्रदर्शनी गरिनेछ। मेलाको मुख्य आकर्षणका रूपमा पुरुष फुटबल प्रतियोगिता रहनेछ। प्रतियोगितामा ताप्लेजुङसहित झापा, सुनसरी, पाँचथरलगायत जिल्लाका आठ टोली सहभागी हुने आयोजकले जनाएको छ।

फुटबल प्रतियोगिताको विजेताले ट्रफी, पदक र प्रमाणपत्रसहित तीन लाख दुई हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछ। उपविजेतालाई एक लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार प्रदान गरिने अध्यक्ष साँवा लिम्बूले जानकारी दिनुभयो।

मेलासम्पन्न गर्न १९ लाख ५० हजार ११२ रुपैयाँ खर्च हुने अनुमान गरिएको मेला सञ्चालन समितिका आर्थिक व्यवस्थापन उपसमिति संयोजक सुकबहादुर साँवाले जानकारी दिनुभयो।

उहाँका अनुसार मेलाका लागि मिक्वाखोला गाउँपालिका, वडा नं. ४ को कार्यालय तथा विभिन्न जलविद्युत् कम्पनीबाट आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ। साथै, अन्य दाताबाट समेत सहयोग सङ्कलन गर्ने आयोजकको योजना छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo