दिलकुमार लिम्बू
नेपालीहरूको महान् पर्व दसैँ सकिएसँगै तिहार नजिकिँदै गएको छ। दसैँ मनाउन गाउँघर पुगेका आफन्तहरू पनि आफ्नो घर तथा व्यापार व्यवसायमा फर्कन थालेका छन्। विगतका वर्षहरूमा दसैँ मनाउन गाउँ पुगेकाहरू लिङ्गे पिङ खेलेर फर्कने गरे पनि यस वर्ष भने धेरै ठाउँमा पिङ नथापिएकाले उनीहरू पिङ नखेली फर्किएका छन्।
विगतमा ताप्लेजुङका गाउँगाउँमा दसैँ र तिहारलाई लक्षित गरी लिङ्गे पिङ थाप्ने र खेल्ने परम्परा थियो। तर, यस वर्ष जिल्लाका अधिकांश स्थानमा लिङ्गे पिङ देख्न पाइएन। दसैँमा टीका लगाइसकेपछि एकपटक भए पनि धर्ती छाड्नुपर्छ भन्ने मान्यतासँग जोडिएको लिङ्गे पिङ थाप्ने र खेल्ने परम्परा पछिल्लो समय हराउँदै गएको छ।
विगतका वर्षहरूमा नेपाली सेनाले ताप्लेजुङस्थित ब्यारेकमा सर्वसाधारणका लागि समेत खुला हुने गरी लिङ्गे पिङ थाप्दै आएको थियो। गाउँटोलमा समेत प्रशस्तै देखिने पिङ अहिले सीमित क्षेत्रमा मात्र थाप्ने गरिएको छ। फुङ्लिङ नगरपालिकाको ऐश्वर्य चोक र हाङ्देवाको गाईगुडे, पाथीभरा याङवरक गाउँपालिकाको नाङ्खोल्याङ तथा सिरिजङ्घा गाउँपालिकाको खेवा क्षेत्रमा गरी जिल्लामा करिब छवटा लिङ्गे पिङ मात्र थापिएको बताइएको छ।
सदरमुकाम फुङ्लिङमा वीरेन्द्र चोक युवा क्लबले समेत दसैँ–तिहारको अवसरमा लिङ्गे पिङ थाप्दै आएको थियो। तर, क्लबले दुई वर्षयता पिङ थाप्न छाडेको छ। त्यस्तै, गुम्बा डाँडा क्षेत्रमा पनि विगतमा पिङ थाप्ने गरिए पनि एक वर्षयता त्यहाँ पिङ थाप्न छाडिएको छ। यसरी प्रत्येक वर्ष पिङ थाप्ने र खेल्ने प्रचलन क्रमशः लोप हुँदै गएको छ।
एक दशकअघिसम्म दसैँ र तिहारलाई लक्षित गरी गाउँघरमा जताततै लिङ्गे पिङ थापिएको देख्न पाइन्थ्यो। गाउँलेहरू भेला भएर स्थानीय बाबियो, बाँस, सनपाटलगायत सामग्रीको प्रयोग गरी पिङ तयार पार्ने गर्थे। दसैँमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिएपछि एकपटक धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा पिङ खेल्ने चलन थियो। दसैँको नवरात्र सुरु भएसँगै थापिने पिङ तिहारसम्म खेल्ने गरिन्थ्यो। त्यसबेला दसैँ–तिहारको मुख्य मनोरञ्जनको साधनका रूपमा लिङ्गे पिङलाई लिने गरिन्थ्यो।
फक्ताङलुङ गाउँपालिका–६, मादिबुङका सन्त लिम्बूका अनुसार दसैँमा टीका लगाएपछि पिङ खेलेर धर्ती छाड्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यताका आधारमा परापूर्वकालदेखि नै पिङ खेल्ने प्रचलन रहँदै आएको छ। तर, अहिले त्यस्ता पिङहरू लोप हुँदै गएका छन्। एउटा लिङ्गे पिङ भेट्टाउन पनि धेरै गाउँ चहार्नुपर्ने अवस्था आएको छ।
पहिले मनोरञ्जनको प्रमुख माध्यम रहेको लिङ्गे पिङको ठाउँ अहिले अन्य मनोरञ्जनका साधन र सामाजिक सञ्जालले लिँदै गएको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले बताउनुभयो। उहाँका अनुसार आधुनिकतासँगै मौलिक परम्परा र संस्कृतिसँग जोडिएका गतिविधि हराउँदै गएका छन्।
“अहिले समाज आधुनिकतातर्फ अघि बढेकाले हाम्रा मौलिक परम्परा र संस्कृति लोप हुँदै गएका छन्,” उहाँले भन्नुभयो। यस वर्षको दसैँमा गाउँघरमा कतै पनि लिङ्गे पिङ थापिएको आफूले नदेखेको लामाले बताउनुभयो।
लिङ्गे पिङ दसैँको संस्कृति र मौलिकतासँग जोडिएको परम्परा हो। पुरानो पुस्ताका कतिपय मानिसलाई अहिले पनि लिङ्गे पिङ नदेखेसम्म दसैँ आएको अनुभूति नहुने गर्छ। दसैँका बेला सुनसान बनेको ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अहिले भने पुनः चहलपहल बढ्न थालेको छ।