सिक्कुम फुरुम्बाे चरपे /बेलायत
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बीजीएईएसओ) ले गोर्खा सैनिकहरूको समान अधिकार तथा उनीहरूले अघि बढाउँदै आएको कानुनी सङ्घर्षमा सहयोग जुटाउने उद्देश्यले सन् २०२६ अक्टोबर २४ मा बेलायतको केन्टस्थित एशफोर्डको फ्रान्सिस चर्च सभा हलमा दोस्रो च्यारिटी डिनर आयोजना गरेको छ।
कार्यवाहक अध्यक्ष दिल सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक सङ्घसंस्थाका अभियन्ता, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति थियो। कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेका पूर्वअध्यक्ष डम्बर सिङ्गक, आदिवासी जनजाति महासङ्घ यूकेका पूर्वअध्यक्ष सिरि साम्यु, गोर्खा मेजर पदम आङ्बुहाङ, याक्थुङ कल्चर एन्ड हेरिटेजका अध्यक्ष गणेश इजम, लिम्बुवान नागरिक समाज यूकेका उपाध्यक्ष लाहाङ चेम्जोङ, किरात याक्थुङ चुम्लुङ थामेन्दिङमा चुम्भो यूकेकी अध्यक्ष मनमाया नेम्वाङ, लिम्बुवान नागरिक समाज यूकेका तुम्याहाङ छत्र वनेम तथा किरात याक्थुङ चुम्लुङ यूकेका पूर्वमहासचिव विश्वासदीप तिगेलालगायतको सहभागिता थियो।
कार्यक्रममा इन्चार्ज खड्गजङ आङ्बुहाङले पूर्वगोर्खा सैनिक तथा उनीहरूका परिवारले भोग्दै आएका अधिकारसम्बन्धी समस्याबारे चर्चा गर्दै गोर्खा सैनिकहरूले पुर्याएको योगदानको उचित सम्मान र कदर हुनुपर्नेमा जोड दिनुभयो। गोर्खा सैनिक तथा उनीहरूका परिवारले लामो समयदेखि असमान व्यवहार र विभेदको सामना गर्दै आएको उल्लेख गर्दै उहाँले समान अधिकार सुनिश्चित नभएसम्म सङ्घर्ष जारी रहने बताउनुभयो।
उहाँले विभिन्न युद्धमा ज्यान गुमाएका, घाइते भएका तथा बेपत्ता भएका ज्ञात–अज्ञात गोर्खा वीरहरूको योगदानको स्मरण गर्दै कार्यक्रम च्यारिटी भोजमा मात्र सीमित नरहेको बताउनुभयो। संगठनले अघि बढाउँदै आएका सङ्घर्ष तथा मुद्दाहरूको वर्तमान अवस्थाबारे जानकारी गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ थियो।
त्यस्तै, केन्ट शाखाका अध्यक्ष तथा कार्यक्रम व्यवस्थापन संयोजक निर्मल पतङ्वाले गोर्खा सैनिकका परिवारले पुर्याएको योगदानको पनि उच्च सम्मान हुनुपर्ने बताउनुभयो। उहाँले गोर्खाहरूको अधिकारको विषय पेन्सनमा मात्र सीमित नभई समान व्यवहार, सम्मानजनक जीवन, नागरिकता तथा पारिवारिक अधिकारसँग समेत सम्बन्धित रहेको उल्लेख गर्नुभयो।
कार्यवाहक अध्यक्ष दिल सम्बाहाम्फेले संगठनको लिखित दस्तावेज प्रस्तुत गर्दै नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय गोर्खा भर्ती सम्झौतामाथि प्रश्न उठाउनुभयो। उहाँले उक्त सम्झौताबाट उत्पन्न समस्याहरू समाधान गर्न संगठनले पुनः माग अघि सारेको जानकारी दिनुभयो। साथै, सिङ्गापुर प्रहरी बल तथा ब्रुनाईमा कार्यरत गोर्खाहरूको सेवासर्त र सुविधासम्बन्धी विषयमा पनि संगठनले चिन्ता व्यक्त गरेको बताउनुभयो।
सम्बाहाम्फेद्वारा प्रस्तुत लिखित सम्बोधनअनुसार, बीजीएईएसओले गोर्खा भर्तीसम्बन्धी नेपाल सर्वोच्च अदालतको निर्देशन कार्यान्वयनका लागि निरन्तर पहल गर्दै आएको छ। परराष्ट्र मामिला अध्ययनका लागि स्थापित परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (इन्स्टिच्युट अफ फरेन अफेयर्स) मार्फत भइरहेको अध्ययनका क्रममा संगठनका सरोकार तथा सुझावसमेत प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो।
बेलायतमा बसोबास गर्दै आएका पूर्वगोर्खा सैनिक तथा उनीहरूका सन्ततिले नेपाली नागरिकता कायम राख्न पाउनुपर्ने विषयलाई पनि बीजीएईएसओले प्रमुख मागका रूपमा अघि सारेको छ। सम्बाहाम्फेका अनुसार, विभिन्न राज्यबीच भएका सम्झौता, गोर्खा सैनिकहरूले गरेको सैन्य सेवा तथा उनीहरूले भोगेका ऐतिहासिक परिस्थितिलाई ध्यानमा राख्दै नागरिकता र अधिकारसम्बन्धी समस्याको समाधान गरिनुपर्छ।
कार्यक्रमको सुरुवात ज्ञात–अज्ञात गोर्खा वीरहरूको सम्झनामा एक मिनेट मौनधारण गरेर गरिएको थियो। त्यसपछि राष्ट्रिय गान, स्वागत मन्तव्य, दीप प्रज्वलन, संगठनका तर्फबाट मन्तव्य तथा सांस्कृतिक प्रस्तुतिहरू भएका थिए। कार्यक्रममा सामूहिक तस्बिर खिच्ने, रात्रिभोज गर्ने तथा सङ्कलित रकम सार्वजनिक गर्नेलगायतका कार्यक्रमसमेत राखिएका थिए।
कार्यक्रम बीजीएईएसओ यूके समितिका महासचिव अविन नाल्बो र सदस्य शिखर सम्बाहाङफेले सञ्चालन गर्नुभएको थियो।