ताप्लेजुङको दोभान देखि सान्थाक्रा सम्म सडक कालोपत्रे हुनेभएको छ । दोभान देखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्रे हुने भएको हो । मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलो मिटिर सडक कालोपत्रे गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडक कालोपत्रे योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) ले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी÷पोमु÷कञ्चनजङ्घा जेभी निर्माण कम्पनीसँग योजनाको सम्झौता भएको छ । चालू आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबिच तीन करोड ३७ लाख रुपियाँको ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ । चालू आवको बजेटले सडक नाली र ग्राभेल लगायतको काम गरिने छ । आगामी आर्थिक वर्षभित्र सडक कालोपत्रे गरिसक्ने गाउँपालिकाको योजना रहेको पनि हाङ्गामले बताउनुभयो । दोभान–सान्थाक्रा सडक गाउँपालिकाको गौरवको योजना भएकाले सोहीअनुसार पालिकाले बजेट विनियोजन गरेको पालीकाले जनाएको छ । गाउँपालिकाको बजेट पर्याप्त नहुने हुँदा प्रदेश तथा संघीय सरकारसँग पनि आवश्यक बजेटका लागि निरन्तर पहल र समन्वय गरिरहेको उहाँले बताउनुभयो । स्थानीय तहको समपूरक बजेटसँग साझेदारी गरेर योजना कार्यान्वयन गर्न मिल्ने व्यवस्था भएअनुसार प्रदेश तथा संघीय सरकारसँग बजेटका लागि समन्वय भइरहेको उहाँको भनाइ छ । मेरिङ्देन गाउँपालिका, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थलका रूपमा रहेको दोभान बजारदेखि सान्थाक्रासम्म सडक कालोपत्रे भएमा सो क्षेत्रका बासिन्दालाई सुविधा हुने छ । मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङ लगायतका वडाहरूमा जानलाई पनि सोही सडक प्रयोग गरिन्छ ।…