ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जनयुद्ध दिवस मनाउन मंगलबार सार्वजनिक बिदा दिएको छ । फक्ताङ्लुङ गाउँपालिकाले सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको विदा दिएका होे । गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, संघ संस्थाका कार्यालयहरुलाई बिदा दिइएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गतेदेखि सुरु भएको दश वर्षे महान् जनयुद्धको स्मरण र सम्मान गर्न उक्त दिन बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णयलाई गत पुस १३ गते सर्बोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्बोच्च अदालतको आदेशसँगै गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै यसवर्ष फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा नहुने उल्लेख गरेको छ ।…