ओमेन्सा राई, सिदिङवा ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका 'पूर्ण खोप सुनिश्चितता दिगोपना' घोषणा भएको छ। सिदिङवा गाउँपालिका कोशी प्रदेशकै १३औं स्थानमा पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको हो भने ताप्लेजुङ जिल्लाकै पहिलो गाउँपालिका बनेको छ। जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकालाई विश्व स्वास्थ्य संगठनले तोकेका सम्पूर्ण खोपको मात्रा पूरा गर्दै यो घोषणा गरिएको हो।
खोपका माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मूलन गरी शिशु, बालबालिका, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउने तथा खोप सेवाको विस्तार र सुदृढीकरण गर्दै गुणस्तरीय सेवा निरन्तरता दिनका लागि यो अभियान सञ्चालन गरिएको हो।
गत बुधबार गाउँपालिकाले ५९ महिनासम्मका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै पूर्ण खोप सुनिश्चित घोषणा गरेको हो। प्रदेशभरका १३औं स्थानीय तहका रूपमा सिदिङवा गाउँपालिका यो उपलब्धि हासिल गर्न सफल भएको स्वास्थ्य शाखा साब्लाखुका प्रमुख प्रदीप शाहाले जानकारी दिनुभयो।
सिदिङवाका सबै वडामा रहेका १५ देखि ५९ महिनासम्मका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै बुधबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर राईलाई प्रमाणपत्र प्रदान गर्दै स्वास्थ्य शाखा प्रमुख शाहाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुभएको थियो।
गाउँपालिकाको तथ्यांकअनुसार यहाँ १६ देखि ५९ महिनासम्मका बालबालिकाको संख्या ६४० रहेको छ। ती सबैलाई पूर्ण खोप दिइसकिएको छ भने जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले पनि मापदण्डअनुसारका सबै खोप पाइसकेको सिदिङवा स्वास्थ्य शाखा प्रमुख शाहाले बताउनुभयो।
गाउँपालिका अध्यक्ष मानबहादुर राईले चेतनाको कमी भएको क्षेत्रमा घर-घर पुगेर अभियान नै सञ्चालन गरेर यो सफलता हासिल गर्न सकिएको बताउनुभयो। उहाँले हरेक नागरिकलाई स्वस्थ राख्न र स्वास्थ्यसम्बन्धी आवश्यक सेवा सहजै उपलब्ध गराउने वातावरण बनाउन पालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
गाउँपालिकाकी उपाध्यक्ष बन्दना कडरियाले पूर्ण खोप सुनिश्चित घोषणा सफल बनाउन सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरिन्। उनले स्वास्थ्य क्षेत्रमा पालिकालाई यो उपलब्धि दिलाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनीहरूको आवश्यक माग पूरा गर्न पालिका प्रतिबद्ध रहेको बताइन्।
घोषणा कार्यक्रममा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू र प्रमुख प्रशासकीय अधिकृत विकास विश्वकर्मालगायतको उपस्थिति रहेको थियो।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
