ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा एक महिनामा २९ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरा दर्शन गर्न आउँने भक्तजनहरुले भेटीको रुपमा चढाएको नगदलाई संकलन गरिएको सार्वजनिक गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पुस महिनामा जम्मा २९ लाख २५ हजार रुपैयाँ भेटीघाटी रकम संकलन भएको छ । पुष महिनामा पाथीभरा दर्शन गर्ने ६ हजार ४२७ जना दर्शनार्थी पाथीभरा धाममा पुगेर पूजापाठ गरेको थियो । संकलन भएको जम्मा भेटीरकम नेपाल बैंकको खातामा विभिन्न मितिमा जम्मा गरिएको छ । पुस महिनामा दर्शनार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ । पाथीभरा धार्मिक आस्थाको केन्द्रका रूपमा मात्र नभई आर्थिक गतिविधिका लागि पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । पाथीभरा क्षेत्र विकास समितिले दर्शनार्थीहरूले चढाएको भेटीघाटी रकम पारदर्शी रूपमा सार्वजनिक गर्दैै आएको छ । समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा पुग्न पुग्न काफ्ले पाटी सम्म सहजरुपमा यातायात पुग्न सक्छ भने, पाँच किलो मिटर पदमार्ग प्रयोग गर्नु पर्दछ ।…