ताप्लेजुङको धार्मिक स्थल पाथीभरा(मुकुमलुङ)बाट कात्तिक महिनामा ३७ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । भक्तजनहरुले पाथीभरा पुगेर चढाएको भेटी ३७ लाख भन्दा बढी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार कातिक महिनामा ३७ लाख ४४ हजार ७५० रुपैयाँको भेटी तथा दान संकलन गरिएको हो । समितिले हरेक महिनाको भेटी सार्वजनिक गर्ने कार्यतालिका अनुसार कात्तिक महिनाको भेटी तथा दान संकलनको विवरण सार्वजनिक गरेको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा दर्शनका लागि कार्तिक महिनामा ६१ हजार १७३ जनाले पूजापाठ गरेका छन् । कार्यकारी निर्देशक हाङवाङका अनुसार असोज महिनामा भएको वर्षा र बाढी, पहिरोका कारण तीर्थयात्री प्रभावित हुने आकलन गरिएको थियो । तर पाँचथरको हेवाखोलाको डाइभर्सन सञ्चालनमा आएपछि र सडक यात्रा सहज भएपछि तीर्थयात्रीको संख्या बढेको हो । मुख्य मौसम दसैँको नवरात्रिको समयमा करिब दुई सातासम्म सडक अवरुद्ध भएकाले पाथीभरामा भक्तजनको उपस्थिति न्यून भएको थियो । हाङ्बाङका अनुसार सडक अवरुद्ध खुलेसँगै दसैँको अन्ति र तिहारको समयमा बाहिरका जिल्ला र छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, कोलकत्ता, आसाम लगागतबाट पाथीभरा दर्शनमा भक्तजन आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।…