अविरल वर्षापछि केही दिन बन्द रहेको ताप्लेजुङको पाथीभरा तीर्थस्थलमा तीर्थयात्रीको आगमन पुनः बढेको छ । मंगलबार मात्र एक हजार ४९५ भक्तजनले पाथीभरा मन्दिरमा दर्शन गरेका छन्, जुन असोज महिनामै उच्च हो, पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले बताउनुभयो । रिपोर्टर क्लब नेपालका संस्थापक तथा पत्रकार ऋषि धमला सहित उहाँका परिवारले पाथीभरामा पुगेर शर्दन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । असोज १२ गतेदेखि बाढी र पहिरोका कारण मेची राजमार्ग अवरुद्ध हुँदा दशैँको नवरात्रिमा भक्तजनले पाथीभरा दर्शन गर्न सकेका थिएनन् । पाँचथरको हेँवाखोलामा रहेको बेलिब्रिज बगाएपछि लगभग डेढ सातासम्म ठप्प भएको राजमार्ग सञ्चालनमा आएपछि दर्शनार्थीको आगमन पुनः सुरु भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार अहिले देशका विभिन्न स्थान र भारतको सिक्किम, दार्जिलिङ लगायतका क्षेत्रबाट पनि तीर्थयात्रीहरू दर्शन गर्न पाथीभरा आइरहेका छन्, र तीर्थयात्राको यो क्रम निरन्तर बढ्दो छ ।…