नेपाली कांग्रेस ताप्लेजुङले कोशी प्रदेशका उद्योग, कृषि र सहकारी मन्त्री खगेन सिंह हाङगामलाई कार्यपत्र सहित सुझाव पेश गरेको छ। गृह जिल्ला आगमनको क्रममा हाङगामलाई कांग्रेसले ताप्लेजुङको आर्थिक सम्भावना, विशेष गरी अलैँचि उद्योगको प्रवर्द्धन र कृषि क्षेत्रको विकासमा केन्द्रित सुझावपत्र हस्तान्तरण गरेको हो।
ताप्लेजुङ कृषि, उद्योग, सहकारी र पर्यटनमा धेरै सम्भावना बोकेको जिल्ला हो। यहाँका प्रमुख आकर्षणहरूमा कञ्चनजंघा, पाथीभरा, डिकीछ्योलीङ गुम्बा, र तिम्बुङ पोखरी जस्ता स्थानहरू छन्। आर्थिक संरचना कृषिमा आधारित छ, जसमा अलैँचि प्रमुख नगदेबाली हो। कांग्रेसले यस क्षेत्रलाई थप सशक्त बनाउन विभिन्न नीतिगत सुधारका सुझावहरू पेश गरेको छ।
मुख्य सुझावहरू
- अलैँचि विकास बोर्डको स्थापना
ताप्लेजुङमा अलैँचि उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन विशेष विकास बोर्ड स्थापना गर्ने प्रस्ताव छ। यसले गुणस्तर नियन्त्रण, प्याकेजिङ, र निर्यात व्यवस्थापनलाई सुदृढ बनाउने विश्वास गरिएको छ। - अन्तर्राष्ट्रिय अर्गानिक प्रमाणीकरण
अलैँचि, चिया, र कफीलाई अन्तर्राष्ट्रिय अर्गानिक बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक प्रमाणीकरणलाई राज्यस्तरबाट अघि बढाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ। - बेरहाउस र प्याकेजिङ सुविधा
भण्डारणको समस्या समाधान गर्न बेरहाउस र आधुनिक प्याकेजिङ सुविधा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। यसले किसानलाई उत्पादनलाई लामो समयसम्म ताजा राख्न र राम्रो मूल्य पाउन मद्दत पुर्याउनेछ। - कृषि क्षेत्र सुदृढीकरण र सहकारी सुधार
सहकारी मार्फत सामूहिक खेतीको विस्तार, सहकारीको अनुगमन, र अपचलन रोक्न सरकारको ध्यानाकर्षण गराइएको छ। यसले सहकारीको विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ। - जडिबुटि र पशुपालनमा जोड
ताप्लेजुङको अर्थतन्त्रलाई सबल बनाउन जडिबुटि उत्पादन, निर्यात, र प्रशोधन केन्द्र स्थापनाको सुझाव गरिएको छ। किसानलाई जोखिम न्यूनीकरण गर्न बीमा र कृषि ऋणमा व्याज अनुदानको निरन्तरताका लागि सरकारलाई ध्यानाकर्षण गराइएको छ। - मदिरा बोतल पुनः प्रयोगमा जोड
सार्वजनिक स्थलमा मदिरा बोतलले वातावरणमा नकारात्मक असर पार्ने भएकाले पुनः प्रयोगको नीति अपनाउन मदिरा उद्योगलाई प्रेरित गर्नुपर्ने सुझाव कार्यपत्रमा समावेश छ।
कार्यपत्रको संयोजन नेपाली कांग्रेसका जिल्ला सदस्यहरू र कृषि महासंघका प्रतिनिधिहरूले गरेका थिए। कार्यपत्रमा सामेल सुझावहरूले ताप्लेजुङको आर्थिक र सामाजिक सशक्तिकरणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
