ताप्लेजुङ सरोकार केन्द्रका प्रतिनिधिहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग बुधबार भेट गर्दै सुकेटार विमानस्थलमा नियमित उडानको पुनः सञ्चालनका लागि तत्काल पहल गर्न माग गरेका छन्। प्रतिनिधिहरूमा ताप्लेजुङका जनप्रतिनिधि, सांसद र सरोकारवालाहरू सहभागी थिए, जसले नियमित र थप उडानको व्यवस्था नहुँदा नागरिकले ठूलो समस्या भोग्नुपरेको बताएका छन्।
तीन महिनाभन्दा बढी समयसम्म बन्द रहेको सुकेटार विमानस्थलमा केही समय नेपाल एयरलाइन्सले उडान गरे पनि हाल पुनः अनियमित उडानको अवस्था देखिएको छ। सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले मन्त्रीलाई अवगत गराउँदै भने, बाढी र पहिरोका कारण सडक मार्गहरू अबरुद्ध भएका छन्। यस्तो अवस्थामा ताप्लेजुङका नागरिकका लागि हवाई मार्ग नै मुख्य विकल्प बनेको छ।
सरोकार केन्द्रका महासचिव अशोक राईले मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यसले नागरिकलाई दशैं, तिहार, छठलगायत पर्वहरूमा घर जान समस्या भएको बताए। ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, हेवा खोलाको बेलीब्रिज बगेको र अन्य सडक पनि क्षतिग्रस्त भएको कारणले गर्दा नियमित हवाई उडानको आवश्यकता अत्यावश्यक भएको जनाइएको छ।
मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमसँग सानो जहाज मात्रै उपलब्ध भएकाले व्यवस्थापनमा कठिनाइ रहेको बताए। उनले थपे, हामीले निजी कम्पनीहरूसँग पनि छलफल गरिरहेका छौं। ताप्लेजुङको समस्यालाई गम्भीरताका साथ लिँदै नियमित उडान सञ्चालनका लागि प्रयास जारी राख्नेछौं।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
