ताप्लेजुङमा आर्थिक वर्ष २०८१÷८१ मा साढे तीन हजार जनाले राहदानी (इ–पासपोर्ट) बनाएका छन् । बैदेशिक रोजगार साथै अध्ययनको लागि नेपालबाट अन्य देशहरुमा जानका लागि सो बराबरले राहदानी बनाएका हुन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईका अनुसार गत आवमा तीन हजार ५०१ जनाले राहदानी बनाएका छन् । उक्त संख्यामध्ये तीन हजार १३९ जनाले जिल्लाबाटै बुझ्नेगरी राहदानी बनाएका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । यस्तै, द्रुत सेवाअन्तर्गत काठमाडौँबाट राहदानी बनाउनेगरी ३६२ जनाले जिल्ला प्रशासन कार्यालयबाट सिफारिस लगेका छन् । यता राहदानी बनाउने अधिकांश युवा पुस्ता भएका पनि प्रशासन कार्यालयले जनाएको छ । युवा पुस्ताले वैदेशिक रोजगारीमा जानलाई राहदानी बनाएका पाइएको छ । गत आवभन्दा अघिल्लो आवमा ताप्लेजुङमा एक हजार ५०० बढीले राहदानी बनाएका थिए । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० मा कुल पाँच हजार १७९ जनाले राहदानी बनाएका थिए । सो सङ्ख्यामध्ये चार हजार ५५७ जनाले जिल्लाबाट बुझ्नेगरी र ६२२ जनाले काठमाडौँबाट बुझ्नेगरी सिफारिस लगेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको तथ्यांकमा उल्लेख गरिएको छ ।