हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट सोमबार नेपालमा मनसुन भित्रिएसंगै ताप्लेजुङका सर्वसाधरण नागरिकहरु त्रासित बनेका छन् । मनसुन भित्रिएकै दिन देखि ताप्लेजुङमा वर्षा,बाढी पहिरोले जनधनको क्षति बेहोर्नु परेको छ ।
फक्ताङलुङ गाउँपालिका—२ खेजिनेममा गएरात १ः३० बजे सुतिररेको अवस्थामा घर माथीबाट आएको पहिरोले पुरिएर फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष विकास साम्राको बुवाआमा र दुई बहिनी गरि एकै घरका चार जनाको मृत्यु हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मुत्यु हुनेमा ७० वर्षका राम बहादुर साम्रा ५१ वर्षकी जसमाया लिबाङ साम्रा, १० वर्षीय जुम्लिया गंगा र जमुना पहिरोले परिएर मृत्यु भएका हुन । घाइते वर्ष ४० का युगेन लिम्बू र उहाँका ३ वर्षीय छोरीलाई सिंवा स्वास्थ्य चौकीबाट थप उपचारका लागि जिल्ला अस्तालमा रेफर गरिएको छ । त्यस्तै एउटा खसि र २ वटा बोख समेत पहिरोले बगाएको प्रहरीले जनाएको छ । गत बुधबार रात वर्षासंगै आएको चटयाङले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका—३ तिरिङगे गाउँमा किसानले पालिएको दुई भैँसी मरेका छन् । दुई वटा भँैसी मर्दा दुई लाख १० हजार बराबर क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ताप्लेजुङमा मनसुन भित्रिएसंगै स्थानीय समुदायहरु त्रासित बनेका छन् । विहिबार रात वर्षासंगै आएको बाढीले जिल्लाको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा भौतिक संरचनाहरु बगाएर ठुलो क्षति गराएको छ ।
तापेथोकको सिसेवाखोलामा आएको बाढीले पुलहरू बगाउनुका साथै सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ । पानीको बहाब तमोर नदीको किनारमा रहेको बस्तीहरुका समुदाय त्रासित बनेका छन् ।
फक्ताङलुङ गाउँपालिका छेउमा रहेको सिसावा खोलाको पुल बगाएकाले सदरमुकामसँगको सम्पर्क टुटेको छ । त्रिदेशीय सडक तमोर करिडोरमा समेत आवजावत बन्द भएको छ । तमोर करिडोरमा पर्ने फक्ताङलुङ गाउँपालिका ३ स्थित सिस्ने खोलामा बन्दै गरेको मोटरेबल पुललाई पनि क्षति पु¥याएको छ । नवनिर्मित पुलको पिलर, सिमेन्ट र जिपसमेत बगाएको बताइएको छ । अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ देखि फक्ताङलुङ जाने सडकहरु अबरुद्ध बनेको फक्ताङलुङ गाउँपालिकाका सुचना अधिकारी जयप्रकाश रिजालले बताउनुभयो । सडक अवरुद्ध भएसंगै आउ जाउ गर्न समस्या भएको स्थानीय भनाइरहेको छ ।
६१ वडामध्ये २३ वटा वडाहरू पहिरोको उच्च जोखिम
ताप्लेजुङ जिल्लाभित्रका ६१ वडामध्ये २३ वटा वडाहरू पहिरोको उच्च जोखिममा छन्। जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये २३ वडा पहिरोको उच्च जोखिममा र ३७ वडा जोखिममा रहेको बताइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले बाढी तथा पहिरोको २० वर्षको अवस्थालाई मध्यनजर गर्दै जोखिमबारे औँल्याएको हो । जिल्लाको सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनामलगायत ४ वटा वडाहरू पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो ।
फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङगोला ५ वटा वडाहरू पहिरोको उच्च जोखिममा छन्। उता, सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालिखोला र आँङ्खोप पनि पहिरोको उच्च जोखिममा रहेका बताइएको छ ।
पाथिभरा याङवरक गाउँपालिकाको नाङखोल्याङ, थुम्बेदिन र चाक्सिबोटे गरी तीनवटा वडा, मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावादिन तथा मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यस्थापन समितिका अनुसार मैवाखोला गाउँपालिकाका पाँचवटा वडा पहिरोको उच्च जोखिममा छन् । सदरमुकामसमेत रहेको फुङलिङ नगपालिकाको ११ मध्ये ६ वटा वडा पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। पहिरोको उच्च जोखिममा नगरपालिकाको १, ६, ७, ८ र १० वडाहरू रहेका बताइएको छ । जिल्लाका ६१ वडामध्ये फुङलिङका २ वटा वडाबाहेक ५९ वडा पहिरोको जोखिममा छन् ।
सदरमुकाम छेउमा रहेका हाङदेवाको हिरेवा र चिनेवा पहिरोले ठूलो रूप लिएमा सदरमुकाम खतरामा रहेकोतर्फ पनि समितिले ध्यानाकर्षण गराएको छ । नाङखोल्याङ, लिङखिम–थिवा, फुरुम्बु, सिनाम, आँङ्खोप, निघुरादिन, फुलबारी, याम्फुदिन, तापेथोक, थुम्बेदिनलाई नियमित रूपमा बगिरहने जिल्लाकै ठूला पहिरोको रूपमा लिइएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले बताउनुभयो ।
साना मानिएका सावादिन, लिवाङ, इखाबु, तापेथोक, लेलेप आदि पहिरो पनि नियमित बगिरहेका छन् । यी पहिरोले विगतदेखि नै जिल्लामा जनधनको क्षति गरिरहेका बताइएको छ । यी पहिरोका कारण सर्वसाधाारणमा त्रास बढिरहेको त छ नै, विकास निर्माणमा पनि ठूलो बाधा पुगेको जिल्ला विपद व्यवस्थापन समितले जनाएको छ ।
विगतलाई हेर्दा
विगतलाई हेर्दा असारदेखि असोज महिनासम्मै पहिरोबाट जिल्लामा ठूलो क्षति भएको देखिन्छ । २०७२ सालमा जिल्लाका तत्कालीन गाविसहरू खोक्लिङ, लिबाङ, लिङलेप, सान्थाक्रा साथै विभिन्न भागमा गएको पहिरोका कारण ५९ जनाको मृत्यु भएको तथ्याङक रहेको छ । सो पहिरोबाट अर्बौँ रुपैयाँ बराबरको क्षति हुनुका साथै सयौँ घरपरिवार विस्थापित भएको थियो । २०७३ सालमा दोखुमा पहिरो जाँदा चार जनाको मृत्य भएको थियो । साथै, सयौँ घरपरिवारको उठिबास भएको थियो । गत वर्ष जेठ पहिलो साता सिदिङवा गाउँपालिका—३ मेहेलेमा बाढीसंगै गएको पहिरोमा परेर चार जनाको मृत्य भएको थियो । …
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
