ताप्लेजुङको सदरमुकामदेखि चीनको सीमावर्ती क्षेत्रसम्मको सडक कालोपत्रे गर्न पहल गर्न माग गरिएको छ। प्रतिनिधिसभाका सांसद तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा समक्ष आवश्यक डकुमेन्ट बुझाउँदै पहल अगाडि बढाउन आग्रह गर्नुभएको छ।
सदरमुकाम फुङलिङ बजारदेखि टिप्तालासम्मको ८५ किलोमिटर सडक विस्तार तथा कालोपत्रेका लागि नेपाल सरकारले चिनियाँ सरकारसँग छलफल अघि बढाउनुपर्ने माग सांसद भट्टराईले गर्नुभएको छ। साथै, कालोपत्रेसँगै पुलहरूको निर्माणका लागि चिनियाँ सरकारको सहयोग लिन आग्रह गर्नुभएको छ। ताप्लेजुङका सांसदहरू योगेश भट्टराई, उर्मिला थेवे र लिलादेवी बोखिमले केही दिनअघि छलफल गरी सो प्रस्ताव मन्त्री राणासमक्ष पेश गरेको सचिवालयले जनाएको छ।
गत मंसिर २९ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोली र चिनियाँ पक्षबीच छलफल भएको थियो। सो छलफलमा नेपाल सरकारले औपचारिक अनुरोध गरे चिनियाँ पक्ष सडक स्तरोन्नतिसहितका कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभएको छ। नेपालले चिनियाँ सरकारलाई अनुरोध गरेपछि गृहमन्त्रालयलाई यसबारे जानकारी गराइएको पनि शर्माले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले तयार पारेको विवरण बिहीबार सांसद भट्टराईलाई उपलब्ध गराएको थियो। सोही आधारमा सांसद भट्टराईले तत्काल प्रस्ताव अघि बढाउन आग्रह गर्नुभएको छ।
हाल हिउँदयाममा टिप्तालासम्म सहज रूपमा सवारी साधन सञ्चालन भए पनि बर्खायाममा भने सडक अवरुद्ध हुने सम्भावना छ। सोही सडकखण्डअन्तर्गत सुकेपानी क्षेत्रमा बेलिब्रिज निर्माण कार्य सुरु भइसकेको छ। उक्त बेलिब्रिज निर्माण सम्पन्न भएपछि बर्खायाममा समेत ओलाङचुङगोला सम्म सवारी साधन सञ्चालन गर्न सकिने बताइएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
