ताप्लेजुङको फले र घुन्सामा स्याउ खेती सफलतामा उन्मुख
Phaktanglung Darpan
मंसिर ११ गते २०८१
12:49 pm
फक्ताङलुङ दर्पण
ताप्लेजुङको हिमाली क्षेत्र फक्ताङ्लुङ गाउँपालिका–६ अन्तर्गत घुन्सा र फलेटार क्षेत्रमा स्याउ खेती गर्न थालेका छन् । यहाँका स्थानीय र केही संस्थाहरुले व्यवसायीक स्याउ खेतीको परिक्षण गर्दै आएका छन् ।
ग्याप्ला,फलेटार क्षेत्रमा विगत देखि नै स्याउ खेती गर्दै आएको थियो । तर व्यापारीक प्रयोजनका लागि नभर आफ्नै प्रयोग गर्नका लागि स्याउ खेती गर्दै आएको थियो । कञ्चनजङ्घा आधार शिविरको प्रवेशद्वारका रूपमा परिचित यी क्षेत्रहरूमा इटालीबाट आयात गरिएको फुजी र गोल्डेन डेलिसियस प्रजातिका बिरुवाले पहिलोपटक फल दिएका हुन । स्याउका बिरुवा फल लागेपछि स्थानीय किसानहरूमा उत्साह थपिएको छ । मनाङ एग्रो फार्मको समन्वयमा बिरुवा ल्याएर परीक्षणका रूपमा रोपिएको स्याउले राम्रो नतिजा दिन थालेको छ । फलेका किसान मिङ्मा शेर्पाले स्याउ खेती सफल हुनेमा विश्वास व्यक्त गर्दै यो प्रयासले व्यावसायिक खेतीका लागि नयाँ सम्भावना देखाएको बताउनुभयो ।
फलेटार र घुन्सामा दुई रोपनी क्षेत्रफलमा नमुना स्याउ बगैंचा विस्तार गरेको छ । स्विजरल्याण्डको टोली, स्थानीय समुदाय, र पुतली सहयोग योजना संस्थाको साझेदारीमा नमुना स्याउ बगैंचामा दिगो पर्यावरणीय कृषि प्रणाली कार्याक्रम अन्तर्गत नमुना स्याउ बगैंचा सुरु गरेको पुतली सहयोग योजना संस्थका जिल्ला कार्यक्रम संयोजक दावा छिरिङ शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार परियोजनाले स्याउ उत्पादन मात्र नभएर अन्य कृषि उपजहरूमा पनि राम्रो प्रभाव पार्ने आशा गरिएको छ ।
किसानहरूलाई आर्थिक रुपमा सशक्त बनाउनका लागि व्यवसायिक स्याउ खेती गर्न थालको हो । घुन्सा स्याउ नमुना बगैंचामा ६० वटा जापानीज फुजी(भोथी),१० वटा गोल्डेन डेलिस्योश(भाले) र १० काला(भाले) प्रजातिका स्याउको विरुवा फल्ने क्रममा रहेको संयोजक शेर्पाले बताउनुभयो । स्याउ बगैंचामा जैविकविविधता कायम गर्नका लागि पाँच घार मौंरी र कुखुरा समेत पालन गरेको संस्थाले जनाएको छ । त्यस्तै फलेटार क्षेत्रमा रहेको नमुना स्याउ बगैंचामा उस्तै प्रकार स्याउको विरुवार लगाएको छ । पुतली सहयोग योजना संस्थाले स्याउ बगैंचा हेरचार गर्नका लागि एक जना कृषी प्रविधिक समेत राखिएको छ भने अन्या सहयोगीको समेत व्यवस्था गरेको छ । त्यस्तै, घुन्साका किसान पेमा शेर्पाले परीक्षण खेतीले राम्रो नतिजा दिएको र यो क्षेत्र स्याउ खेतीका लागि उपयुक्त हुनसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार, परीक्षण खेतीले व्यावसायिक स्याउ उत्पादनका लागि किसानहरूलाई थप प्रेरित बनाएको छ ।
स्याउ खेतीको सम्भाव्यता अध्ययन गर्न फले र घुन्साको माटो दुई–तीन वर्षअघि स्वीजरल्याण्ड पठाएर परीक्षण गरिएको थियो । खेतीयोग्य माटो पाइएको निष्कर्षपछि यस वर्ष परीक्षणका रूपमा ४०–४० बिरुवा रोपिएको थियो । प्रारम्भिक नतिजाले स्याउ खेती सफल हुने संकेत दिएको छ । तर, पूर्णरूपमा खेती सफल हुन तीन वर्षसम्मको परीक्षणलाई पर्खनुपर्ने पुतली सहयोग योजना संस्थाले जनाएको छ । स्याउ खेती गरिएको क्षेत्रमा कुखुरा र मौरीपालन पनि गरिएको छ । कुखुराको मलले माटो उर्वर बनाउन सहयोग पु¥याएको छ भने मौरीले स्याउका फूलको परागसेचनमा योगदान दिएको छ । तर, हिउँदको अत्यधिक चिसोका कारण मौरी पालनमा चुनौती देखिएको छ ।
फले (३,२३२ मिटर) र घुन्सा (३,४७५ मिटर) मा पर्यटकको बाक्लो उपस्थिति हुने भएकाले स्याउ खेतीलाई आयआर्जन र पर्यटकहरूलाई कोसेलीका रूपमा प्रदान गर्ने योजना रहेको स्थानीयले जनाएका छन् । यो प्रारम्भिक सफलताले घुन्सा र फलेजस्ता हिमाली क्षेत्रलाई कृषि उत्पादनको नयाँ गन्तव्य बनाउने सम्भावना बढाएको छ । स्थानीय किसानहरूको उत्साह र नयाँ योजनासँगै स्याउ खेती यहाँको दिगो आर्थिक विकासको आधार बन्ने अपेक्षा गरिएको छ । …