सिक्कुम फुरुम्बाे चरपे/ युके
किरात याक्थुङ थामेन्दिङमा चुम्लुङ युकेको आयोजनामा बलिहाङ, तङनाम उत्सव भव्य रूपमा सगरमाथा गोर्खा नेपाली समाज, आस्फोर्ड, केन्टको सभाहलमा सम्पन्न भएको छ। आइतबार आयोजित कार्यक्रममा विभिन्न याक्थुङ मौलिक तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएका थिए।
कार्यक्रमको अध्यक्षता मनमाया नेम्बाङले गर्नुभएको थियो भने प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष दिपेन्द्र याक्सो रहनुभएको थियो। अन्य विशेष अतिथिहरूमा किरात याक्थुङ चुम्लुङ केन्द्रिय सदस्य टंक येङ्गदेन, जित मेन्याङ्गबो, पूर्व सल्लाहकार सिरी प्रसाद साम्यु, निवर्तमान उपाध्यक्ष गणेश इजम, आस्फोर्ड शाखा अध्यक्ष सुन्दर लिङ्गथेप, रोसमोर शाखा अध्यक्ष थान कुमार नाल्बो लगायतका व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रमको उद्घाटन दिपेन्द्र याक्सोले पानसमा दीप प्रज्वलन गर्दै गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य थामेन्दिङ मास् चुम्भोका प्रतिनिधिले व्यक्त गरेका थिए। बलिहाङ, तङनामको ऐतिहासिकता र यसको महत्त्वको बारेमा निवर्तमान उपाध्यक्ष गणेश इजमले छोटकरीमा प्रस्ट्याउनुभयो। उहाँले यस पर्वको सांस्कृतिक पृष्ठभूमि र याक्थुङ समुदायमा यसको महत्त्वबारे जानकारी दिनुभयो।
विशेष सम्मान र सांगीतिक प्रस्तुति
बलिहाङ, तङनामको अवसरमा नेपालबाट बेलायत पुगेकी चर्चित गायिका सुनिता थेगीमलाई विशेष सम्मान गरिएको थियो। किरात याक्थुङ थामेन्दिङ मास् चुम्लुङ युकेको तर्फबाट उनलाई कदर पत्र प्रदान गरिएको थियो। गायिका सुनिता थेगीमले विभिन्न लिम्बू र नेपाली गीतहरू गाएर दर्शकलाई मनोरञ्जन दिलाएकी थिइन्। उनका साथै अमृता सम्बाहाङफेद्वयले पनि सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रमलाई अझ रमाइलो बनाउन सामुहिक नृत्य प्रस्तुत गरिएको थियो। नाम्लिङगेक, लारिङगेक लगायतका नृत्यमा स्थानीय कलाकारहरूले याक्थुङ समाजका परम्परागत यालाङ, केलाङ, पालाम, हाक्पारे जस्ता सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए। यसले उपस्थित दर्शकलाई याक्थुङ समुदायको सांस्कृतिक धरोहरसँग परिचित गराएको थियो।
उपस्थित प्रमुख अतिथि तथा अतिथिहरू
कार्यक्रममा प्रमुख अतिथि दिपेन्द्र याक्सोका साथै कि या चु केन्द्रिय सदस्य टंक येङ्गदेन, जित मेन्याङ्गबो, बिर नरसिंह हुक्पा चोङबाङ, पूर्व सल्लाहकार सिरी प्रसाद साम्यु, निवर्तमान उपाध्यक्ष गणेश इजम, किरात याक्थुङ चुम्लुङ आस्फोर्ड शाखा अध्यक्ष सुन्दर लिङ्गथेप, रोसमोर शाखा अध्यक्ष थान कुमार नाल्बो लगायतका अतिथिहरूको उपस्थिति थियो। यसै गरी सगरमाथा नेपाली महिला कमिटि अध्यक्ष उमा गुरुङ, उपाध्यक्ष मोहन सोदेम्बा, किरात राई यायोख्खा प्रारम्भिक कमिटि अध्यक्ष बसुन्धरा लिम्बू, उपाध्यक्ष सन्देश नेम्बाङ लगायतका व्यक्तिहरूको पनि सहभागिता रहेको थियो।
सांस्कृतिक धरोहरको संरक्षण
बलिहाङ, तङनामले याक्थुङ समुदायको सांस्कृतिक पहिचान र परम्परालाई उजागर गर्दै नयाँ पुस्तालाई यो सम्पदा हस्तान्तरण गर्ने प्रयासलाई सुदृढ गरेको छ। यालाङ, केलाङ, पालाम, हाक्पारेजस्ता मौलिक नृत्यहरूको प्रस्तुति मार्फत कार्यक्रममा सहभागीहरूले आफ्नो सांस्कृतिक सम्पदा प्रति गर्व अनुभव गरेका थिए।
कार्यक्रमको सञ्चालन किरात याक्थुङ चुम्लुङ केन्द्रिय सहसचिव सकुन्तला नेम्बाङले गर्नुभएको थियो भने समापन मन्तव्य अध्यक्ष मनमाया नेम्बाङले व्यक्त गर्नुभयो।
यस वर्षको बलिहाङ, तङनामले युकेस्थित याक्थुङ समुदायलाई एकत्रित गर्दै आपसी सद्भाव र संस्कृति संरक्षणको सन्देश प्रवाह गरेको छ।