महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा बेलायतमा विविध सांस्कृतिक कार्यक्रम
Phaktanglung Darpan
कार्तिक २९ गते २०८१
6:45 am
फक्ताङलुङ दर्पण
सिक्कुम फुरुम्बो चरपे/युके महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनज्यूको १४०औं जन्मजयन्ती आइतबार बेलायतको रग्बी शहरमा विशेष समारोहका साथ सम्पन्न गरिएको छ। किरात धर्म तथा साहित्य उत्थान संघ, राष्ट्रिय समिति युकेले यो वर्षको जन्मजयन्ती रग्बी शहरमा आयोजना गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासका कार्यवाहक बिपिन दुवाडी थिए। अन्य अतिथिहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे, रग्बी बोरो काउन्सिलका मेयर साइमन वार्ड, किरात याक्युङ चुम्लुङ युकेकी अध्यक्ष कमला सेन्दाङ, र लोकतान्त्रिक मञ्च युकेकी अध्यक्ष शर्मिला यक्सो हुक्पा चोङ्बाङलगायत विभिन्न संघ(संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथिबाट दीप प्रज्वलन गर्दै महागुरु फाल्गुनन्द लिङदेनको तस्वीरमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरियो। संघका उपाध्यक्ष तिल बिक्रम लावतीले स्वागत मन्तव्य राख्दै सहकोषाध्यक्ष कुमुद लिम्बुले महागुरुको जीवनी प्रस्तुत गरे। माङलाङ केलाङद्वारा अतिथिहरूलाई स्वागत गरियो, जसको नेतृत्व प्रिय खिम्दिङले गरे।
शुभकामना मन्तव्यका क्रममा उपस्थित अतिथिहरूले महागुरु फाल्गुनन्दको योगदान र समाज सुधारमा देखाएको अद्वितीय दृढता तथा आध्यात्मिक मार्गदर्शनको चर्चा गरे। अतिथिहरूले उहाँको समाज सुधारक भूमिकालाई स्मरण गर्दै, धार्मिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनमा उहाँको बलिदानको प्रशंसा गरे।
बेलायतमा छरिएर रहेका किरात धर्मावलम्बीहरू तथा शुभचिन्तकहरूको बाक्लो सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख माङसेवा साबा मंगल सिं लिङदेनको संयोजनमा किरात सामाजिक मुन्धुम वाचन गर्दै विश्व शान्ति, मानव एकता र प्राणी संरक्षणको सेवा गरिएको थियो।
कार्यक्रमका विशेष आकर्षणहरूमा सांगीतिक प्रस्तुतिहरू पनि रहेका थिए। सांगीतिक यात्रामा बेलायत पुगेका मुन्धुमी गायक ब्रविन सेर्मा र गायिका गंगा फियाकले सिवाखाहुन, पालाम र हाक्पारे गीत प्रस्तुत गरे। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष राजेन्द्र खिम्दिङले गरे भने सञ्चालन सचिव पर्बत राईले गरेका थिए।
महागुरु फाल्गुनन्द लिङदेनज्यूको १४०औं जन्मजयन्तीले प्रवासी नेपाली समुदायमा पनि श्रद्धाभाव र एकताको सन्देश दिएको आयोजकहरूले बताएका छन्।