मुकुम्लुङमा केबुलकार विकास कि विनाश ?

Phaktanglung Darpan
कार्तिक २१ गते २०८१
7:16 pm

फक्ताङलुङ दर्पण
- लाहाङ चेम्जोङ
याक्थुङ वा लिम्बुका सांस्कृतिक आस्थाको केन्द्र मुकुम्लुङमा केबुलकार निर्माण गर्ने योजना सार्वजानिक भएपछि पक्ष र विपक्षमा मतभेद शुरुभएको धेरै भइसकेको छ । यो योजनाको विरुद्दमा थुप्रै चरणहरुमा आन्दोलनहरु भइरहेका छन् । केबुलकार बनाउने भन्दै मुकुम्लुङ क्षेत्रका हजारौं संख्यामा लालिगुरासका रुखहरु काटिए भने आन्दोलनरत पक्षकाहरुले आन्दोलनकै रुपमा विभिन्न जातका हजारौं रुखका बिरुवाहरु पनि रोपेका छन् । एक पक्ष मास्ने, अर्को पक्ष संरक्षण गर्ने जस्तो सिनमा देखिएको छ। केबुलकार बनाउनेहरुले यो विकास हो भनेका छन् भने विरोध गर्नेहरुले विनाश हो भनेका छन् । पूरै जनता दुई पक्षमा विभाजित भएका छन् । मुठभेडमा जाने खतरा त्यतिकै बढेको छ ।
छलफल गरौं, मुकुम्लुङमा केबुलकार बन्नु के साच्चै विकास नै हो त ? कि विनाश मात्र हो ?
स्थानिय जनताका जीवनस्तरमा गुणात्मक परिवर्तन आउन सक्छ, मुकुम्लुङमा गरिने केबुलकारको विकासले ? स्थानिय जनताका छोराछोरीहरुका लागि केबुलकारको प्रयोगले शिक्षामा सहज हुन्छ त ? स्थानिय जनतालाई केबुलकारको प्रयोगले स्वास्थ्य सुविधा प्राप्त गर्न सहज हुन्छ होला त ? पक्कै पनि, केबुलकारको उद्देश्य त्यतातिर छैन । बरु, पाथिभरा केबुलकार निर्माणको नियत याक्थुङ/लिम्बुका आस्थाको केन्द्र मुकुम्लुङको ओजलाई भत्काउदै व्यापारिक केन्द्रको निर्माण गर्नु मात्र हो । स्थानिय जनताका जीवनस्तर उठाउन र सहज बनाउने उद्देश्य छैन, यसको। मुकुम्लुङ/सेमुक्तु मुक्तुफोमाङ जस्ता स्थानिय तथा मुन्धुमी नामलाई विस्थापित गर्दै, पाथिभराको नाम स्थापित गर्दै पुरानो रैथाने सांस्कृतिक केन्द्रलाई ध्वस्त गर्नु छ, यसको। यसो भएको हुनाले यो विकास भन्दा पनि व्यापार बढी हो र विनाश हो ।
केबुलकारका मालिक र उनका दलाल माफियाहरुले भन्ने गरेको जस्तो स्थानिय जनताका जीवनस्तर उठाउन, शिक्षा र स्वास्थ्यमा पहुच पुगोस् भनेर यो केबुलकार निर्माण गर्न खोजिएको होईन । बाहिरका मान्छेहरुलाई आकर्षित गर्न ल्याइएको व्यापारिक योजना हो । यदि ताप्लेजुङको कुनै विकट क्षेत्रलाई फुङलिङसंग जोडियोस् भनेर केबुलकारको विकास गरिन्छ भने त्यो चाहिं साच्चैको विकास हुन्छ । किनभने, त्यो विकट क्षेत्रका जनता फुङलिङसम्म आउन जान सहज हुनेभयो, र शिक्षा र स्वास्थ्यको लागि पहुच हुनेभयो, केबुलकारको विकासले ।
स्विट्जरलैण्डका पहाडहरुमा केबुलकार वा रोपवेहरुको विकास गरेर थुप्रै गाउहरुलाई केन्द्रसंग जोडिएको छ । स्वास्थ्य, शिक्षा र जीवनशैलीलाई सहज बनाएका छन् । यस्तो योजनालाई विकास भनिन्छ । तर, यो पाथिभरा केबुलकार चाहिं विकास होईन, व्यापार हो । रैथाने मूल्य मान्यता र संस्कृतिको विनाश हो ।
यदि पाथिभरा केबुलकार शुरु भए, स्थानिय याक्थुङ पहिचान तथा याक्थुङ संस्कृतिको निश्चितरुपमा अवसान हुनेछ । किनभने, पाथिभरा केबुलकार निर्माणको योजनाले स्थानिय नाम/पहिचान जस्तै मुकुम्लुङ, सेमुक्तु मुक्तुफोमा युमामाङ लगायत सबैलाई विस्थापित गरिदिन्छ । पाथिभरा केबुलकारले आफ्नो व्यापार बढाउन, पुस्तिका, पम्पलेटहरु, लिभलेटहरु, म्यानुएलहरु, सामाजिक संन्जालहरु फेसबुक, वेबसाइट इत्यादिको प्रयोग गरेर थामिनसक्नुको व्यापारिक प्रचार-प्रचार शुरु गर्दछ, सोभएपछि संसारले पाथिभरा भनेर मात्र बुझ्नेछन् र चिन्नेछन् । मुकुम्लुङ, सेमुक्तु मुक्तुबुङ जस्ता रैथाने नामहरु सदासदालाई हराएर जानेछ ।त्यसपछि, पाथिभरा केबुलकारले पूर्ण रुपमा रैथाने नाम पहिचानमाथि कब्जा जमाउनेछ । याक्थुङ वा लिम्बुहरुको रैथानमा ठूलो बज्र परेको कथा इतिहासले लेखेर राखेको हुनेछ । यसरी, याक्थुङहरुलाई रैथाने जाति भनेर प्रमाणित गर्ने ठूलो शक्तिपीठ नै खोसिएपछि भोलि के हुँदै जान्छ ! स्वभावैले, यो याक्थुङ वा लिम्बुहरुको लागि शोक मन्तव्य जस्तो भएर इतिहासको गर्तमा लेखिएर रहेको हुनेछ । हुँदाहुँदा, याकथुङ/लिम्बुहरुको आदिवासी हुम् भन्ने लिगेसीमाथि नै प्रश्नहरु उठ्न उठाउन थालिनेछन्। तसर्थ, यो योजना भयङकर खतरनाक हुनेवाला छ, याक्थुङहरुका लागि ।
यदि केबुलकार शुरु भए, याक्थुङहरुको सांस्कृतिक सत्ता खोसिनेछ । अहिले सम्म त, याक्थुङहरुले आफ्नो पुजारी फेदाङमा लगेर मुकुम्लुङ्माथि पुजा गर्न पाइरहेका छन् । सबै याक्थुङहरुलाई यो हाम्रै हो भन्ने लागेर ढुक्कले जाने आउने भइरहेको छ । पितापुर्खाहरुकै पाला देखिन् याक्थुङ/लिम्बुहरुले मुकुम्लुङ पहाडमा अवस्थित युमामाङ थान (शक्तिपिठ) मा ढुक्कले पूजाआजा गर्दै आईरहेको छन्। यो वाला ढुक्क नै सांस्कृतिक सत्ता हो । तर, केबुलकारको निर्माण पश्चात यो सांस्कृतिक सत्ता व्यापारीको हातमा जानेछ अथवा पाथिभरा केबुलकारको मालिकको अनुमति बेगर सांस्कृतिक अनुष्ठानको लागि जान र आउन पाउने छैनन्, याक्थुङहरुले । मुकुम्लुङमाथिको सत्ता याक्थुङहरुको हातबाट खोसिएर व्यापारी चन्द्र भण्डारीको हातमा सम्पूर्ण रुपमा जानेछ । याक्थुङहरु मालिक हुने छैनन्, व्यापारी भण्डारी मालिक हुनेछन् । पुस्तौंपुस्ता यस क्षेत्रमा स्वायत्त अधिकारको भोगचलन गर्दै आईरहेका याक्थुङहरुले अबदेखिन् पैसा तिरेर सशुल्क जान र आउन पर्ने हुन थाल्छ । साथै, याक्थुङहरुले आस्था अनुसारको विभिन्न पूजाआजा गर्ने कार्य सधैंलाई बन्द हुनेछ । त्यसपछि, याक्थुङहरुको सांस्कृतिक सत्ताको सवालमा पूरै एक युगको अन्त्य हुनेछ ।
यदि पाथिभरा केबुलकार शुरु भए, यो पवित्र मुन्धुममाथिको आक्रमण पनि हुनेछ । मुन्धुमको जिस्ट नै प्रकृतिवाद हो । मुकुम्लुङ आफैमा मुन्धुमले परिकल्पना गरेको जस्तो सुन्दर नभएर कुरुप हुँदै गैरहेको थुप्रै भैसक्यो। केबुलकारको परियोजना यति ठूलो हो, पूरै प्रकृतिमाथि भयङकर हस्तक्षेप हो। मुन्धुमी क्षेत्रमा यदि कृतिम संरचनाहरु बन्छन् भने यो सरासर मुन्धुममाथिको आक्रमण पनि हो । मुन्धमलाई प्रेम गर्ने र जीवनदर्शन मान्ने याक्थुङहरुलाई यो सहन गार्हो हुन्छ । यो हिन्दूहरुका पवित्र स्थल पशुपतिनाथको आकाश भएर केबुलकार सन्चालन गर्नु जस्तो हुनेछ । पशुपतिनाथको अन्डरग्राउण्ड भएर चल्ने मेट्रोरेलको परियोजना किन पास हुदैन ? हाम्रोमा चाहीं किन सजिल्यै आउछ ? प्रष्ट छ, यो सांस्कृतिक विभेद हो । विकासको नाममा याक्थुङ संस्कृतिको विनाश हो ।
यदि पाथिभरा केबुलकार शुरु भए, याक्थुङ सभ्यताको हवाला हुनेछ । याक्थुङ सभ्यताको विकास तीनवटा पवित्र पहाडहरु फक्ताङलुङ, सेसेलुङ र मुकुम्लुङको फेदी र वरिपरि भएको हो । फक्ताङलुङ, सेसेलुङ र मुकुम्लुङको न्यानो काखमा पुस्तौंपुस्ता बसोबास गर्दै आईरहेका याक्थुङ/लिम्बुहरुले यो कुरा बुझेको हुनुपर्दछ । नश्लिय सत्ताधारीहरुले पनि यो पुरानो सभ्यता र यो सभ्यताले हुर्काएको लोभलाग्दो मुन्धुम दर्शन बुझेको छ र नै नश्लिय चिन्तन भएका उनीहरुलाई मन परिरहेको छैन । सभ्यता र सभ्यता बिचको द्वन्द्व सधैं हुनेगर्छ । खासगरी, राज्य सत्ता नश्लिय भएको हुनाले याक्थुङ सभ्यता सिध्याएर हिन्दू आर्य सभ्यता स्थापित गर्न चाहन्छ । त्यहिभएर, मुकुम्लुङलाई विस्थापित गरेर पाथिभरा स्थापित गर्न चाहन्छ । युमाको महिमालाई विस्थापित गरेर कालिदेविको शक्तिलाई उठाउन चाहन्छ । संसारमै, नश्लिय सत्ताधारीहरु प्रपन्चसहितको विकासे योजनाहरु ल्याएर रैथानेहरुलाई लोभ्याउन हरदम कोसिस गरिरहेका हुन्छन्। अत्यावश्यक विकासको कार्यक्रम हो, भन्छन् । सेवा र सुविधाको हिसाबले हो कि जस्तो पनि लाग्छ । तर, यसले पूरै सभ्यता र संस्कृतिको विनाश गरिरहेको हुन्छ । ताप्लेजुङको मुकुम्लुङमा पनि रैथाने सांस्कृतिक केन्द्रलाई भत्काएर हिन्दू सांस्कृतिक केन्द्र बनाउन लागिपरिरहेको प्रष्ट छ । सोहीपारामा, सेवा र सुविधा प्राप्त हुने गीत गाएर लट्ठ पार्न भरमग्दुर प्रयास गरिरहेका छन् । यसर्थ, याक्थुङ/लिम्बुहरुले पाथिभरा केबुलकारलाई स्विकार गर्नु भनेको याक्थुङ सभ्यता र याक्थुङ मुन्धुमलाई नै हवाला गरेको हुनेछ । यो योजना याक्थुङ सभ्यताको विनाशको बाटोमा निक्कै ठूलो पहिरो गएको सावित हुनेछ ।
जाँदाजाँदै, कैलाश पर्वतमा मान्छेहरुलाई जान अनुमति छैन । हिन्दूहरुका मान्यता अनुसार मान्छेहरुको प्रवेशले अपवित्र हुन्छ । त्यस्तैगरी, भुटानको गङखर पुएन्सुम पहाडमा पनि धार्मिक आस्थाकै कारण मानिसहरुलाई जान दिईन्न । रसियाको यमन्ताउ पहाडमा पनि मानिसहरुलाई प्रवेश गर्ने अनुमति छैन । संसारमा धार्मिक तथा सांस्कृतिक आस्थाको कारण वर्जित गरिएका पहाडहरु थुप्रै छन् । मुन्धुमी दर्शनलाई केलाएर हेर्ने होभने मुकुम्लुङ पनि त्यस्तै क्षेत्रमा पर्दछ । मुकुम्लुङको मिथलाई सुन्दा त्यहा जान वर्जित नै छ । त्यहा गएर फोहोर मैला गर्दा युमा रिसाएको भनाईहरुमा विस्वास गरिन्छ । घटनाहरु घटेको विस्वास गरिन्छ । त्यसकारण, याक्थुङ मुन्धुमको मान्यता अनुसार केबुलकार लगायत कुनै पनि मानव निर्मित संरचनाहरु बनाइनु हुन्न । मानव प्रवेशलाई वर्जित गर्नुपर्दछ । मुकुम्लुङ केबुलकाररहित पाकृतिक स्वरुपमा अवस्थित हुनुपर्दछ । सरोकारवाला याक्थुङ/लिम्बुहरुसंग यसको संरक्षकत्व हुनैपर्दछ । यो संसारमै प्रचलित रैथाने अधिकार हो ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला





