ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दशैं पर्वलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरुत्थान गर्न लिङ्गे पिङ बनाइएको छ । बिरेन्द्र युवा क्लबका सदस्यहरूले दशैंको अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन ्। दशैंको प्रमुख आकर्षणहरूमध्ये लिङ्गे पिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो ।
बालबालिका, युवादेखि वृद्धसम्मलाई सामूहिक रुपमा मनोरञ्जन दिने मात्रै होइन, संस्कृतिसँगको सामिप्य र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्न भएकाले क्लबले पिङमा बनाएको क्लबका अध्यक्ष लक्ष्यमी काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार लिङ्गे पिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अंग हो ।
यो परम्परागत खेलको रुपमा दशैंको बेला विशेष महत्व राख्छ । पिङमा झुल्दा आउने आनन्दको अनुभूति मात्र होइन, पिङले व्यक्तिहरूलाई सांस्कृतिक र आध्यात्मिक अर्थ पनि दिन्छ । यो पर्वको समयमा बनाइने पिङले दशैंलाई मात्र होइन, तिहार र अन्य पर्वलाई पनि जीवन्त बनाउने कार्य गरेको काफ्लेको भनाइ रहेको छ ।
क्लबका सचिव दिनेस खवासका अनुसार समयको प्रवाहसँगै नयाँ पुस्तालाई यो परम्परागत खेलको महत्त्व बुझाउन कठिनाइ भइरहेको छ । बिरेन्द्र युवा क्लबले यस पिङ निर्माण गरेर स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गरेको खवासले बताउनुभयो ।
बिरेन्द्र युवा क्लबले लिङ्गे पिङ निर्माण गरेर दशैंको मौलिकता र सौन्दर्यलाई जोगाउन गरेको स्थानीयको भनाइरहेको छ । दशैंको अवसरमा स्थानीय समुदायलाई संगठित गर्ने र परम्परागत मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पिङको निर्माण गरिएको क्लबले जनाएको छ ।
संस्कृतिलाई बिर्सन नदिने उद्देश्यले हरेक वर्ष पिङ निर्माणको पहल गर्दै आएका छन् । यस वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर पिङको सुरुवात गरिएको क्लबका अभ्यक्ष काफ्लेले बताउनुभयो ।
पूजा गरेर पिङ बनाउने परम्पराले सामाजिक एकता र आपसी सद्भावलाई मजबुत बनाउने कार्य गर्छ ।
समुदायका विभिन्न वर्गका मानिसहरूले पूजा कार्यक्रममा सहभागी भएर दशैंको रमाइलोमा भाग लिन्छन् ।
पछिल्लो समयमा लिङ्गे पिङ जस्ता परम्परागत खेलहरू क्रमशः लोप हुँदै गइरहेका छन् । आधुनिक खेलहरू, टेक्नोलोजी र शहरीकरणको प्रभावले गर्दा गाउँघरमा परम्परागत पिङ निर्माणको चलन कम भएको छ ।
विशेष गरी शहरी क्षेत्रमा यस्तो पिङ देख्न पाउनु दुर्लभ बन्दै गएको छ । यो परिवर्तनले स्थानीय खेल र परम्परालाई नोक्सानी पु¥याएको छ ।
आधुनिक जीवनशैली र व्यस्तताको कारण नयाँ पुस्ता आफ्नो परम्परागत खेलप्रति कम आकर्षित हुँदै गइरहेका स्थानीय विवस लिम्बूले बताउनुभयो ।
लिङ्गे पिङको रौनक र मज्जाले दशैंलाई अझ विशेष बनाउँछ । दशैंको बेला, लिङ्गे पिङमा झुल्न पाउँदा मानिसहरूले आफ्ना बाल्यकालका यादहरू ताजा गर्छन् ।
बालबालिकादेखि वृद्धसम्मका मानिसहरू पिङको आनन्द लिन गाउँभरि नै जम्मा हुन्छन् । पिङले समुदायमा आपसी प्रेम, सद्भाव र सहयोगको भावना फैलाउँछ ।
लिङ्गे पिङले दशैंको मौलिकता झल्काउने मात्र होइन, परिवार र समाजलाई एकजुट बनाउने अवसर पनि प्रदान गर्छ ।
बिरेन्द्र युवा क्लबले यस पिङ निर्माण गरेर दशैंलाई अझै उल्लासमय बनाउने प्रयास गरेको छ ।
समाजमा रहेका पुराना संस्कार, परम्परा र खेललाई जोगाउने उद्देश्यले यस पिङ निर्माण गरिएको हो । संस्कृतिको जगेर्ना र स्थानीय खेलको प्रवर्द्धन गर्नु क्लबको मुख्य उद्देश्य सचिव खवासले बताउनुभयो ।
लिङ्गे पिङ निर्माणबाट मात्र होइन, अन्य परम्परागत गतिविधिमा पनि युवाहरूको सक्रिय सहभागिताले संस्कृतिको संरक्षणमा मद्दत पु¥याउँदै आएको क्लबले जनाएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा बनाइएको लिङ्गे पिङले दशैंको उल्लास साथै रौनक ल्याएको छ ।
परम्परागत खेलको रुपमा लिङ्गे पिङले नेपाली समाजमा छुट्टै पहिचान कायम गरेको छ ।
आधुनिकताको प्रभावमा बिस्तारै लोप हुँदै गएको लिङ्गे पिङलाई पुनःस्थापित गर्न र नयाँ पुस्तालाई यसको महत्त्व बुझाउन यस प्रकारका पहलहरू गरेको छ । …