श्रावण १० गते २०८३
10:48: AM
श्रावण १० गते २०८३
10:48: AM

माइलीको जन्म………. !

असाेज १७ गते २०८१
10:25 am
Author Avatar
फक्ताङलुङ दर्पण

स्त्री रुपमा देख्नेले
मलाई छोरी भनेर चिन्दो रहेछ
छोरी भनेर चिनिसकेपछि
मलाई पराई घरजाने नासोको रुपमा हेर्दा रहेछन्

उता छिमेकीले
घरकी लक्ष्मी हो तिमी भनेर
केहिदिनको देवी बनाउदा रहेछन्
आधा आकासको उपमा पनि दिन्छन्

र, सल्लाह दिन्छन्–
तिमि पानी जस्तै हौ जस्को आफ्नो आकार हुदैन
समय अनुकूल जस्तो पनि आकार बन्नु पर्छ

यसो उसो भन्दै भन्दै
आफ्नै समाजमा
दोश्रो दर्जाको नागरिक बनाइसकेको पत्तै हुदैन

सम्झन्छु,
जन्मेदेखी मृत्युसम्म पुग्दा
म एक स्त्री
तर यो समाजले अनेकौ नाम दिदारहेछन्

कहिले कडा त कहिले मसिनो स्वरमा
थर्काउछन् मलाई–

नगर्नु हिम्मत सपना देख्ने
बरु रमाउनु चुला चौकामा
नचियाउनु आंगन बारिहको रंगिन संसार
राख्नु गुम्स्याएर कथा ब्यथाहरु

लाग्छ
समय रोकिएको छ
अझ आमूल परिवर्तन हुन बाकी नै छ
हुन त
कत्रा कत्रा परिवर्तन आए
युग कता देखि कहाँ पुग्यो
तर
स्त्रीलाई हेर्ने दृष्टिकोणमा
विल्कुलै नयाँ चिन्तन भित्राउन बाकी नै छ

आमाले मलाई सुनाउनु हुन्थ्यो–
‘तिमि जन्मिदै गर्दा
म अर्धवेहोस थिएं
आफैलाई बिर्सेछु
तर तिम्रो अवोध अनुहारमा
मैले मेरो अवतार पाएं’

आमाले फेरि सुनाउनु भयो–
‘बिस्तारै आफुलाई सम्हाल्दै
फेर्दे लामो स्वास
खोल्दै सुस्तरि आँखा
पोत्दै अनुहारमा आशाका किरण
तिमिलाई काखमा पाएपछि
भुलेछु स्त्री पीडा’

आमाको नोस्टाल्जियाहरु
साउतीको भाषामा फेरि दोहोरिन्छन्–
‘कसैले मलाई सुनाए भारी आवाजमा
माइली छोरी जन्माएछौ’

मेरी आमालाई ती भारी आवाजमा
मिसिएको शव्द सुन्दा
बुङ्कुलुङको आलुको भारीले थिचे जस्तै अनुभूति भएको थियो रे

कुरुप समाजको सिंगो अनुहार
मसंगै आमाको गर्भबाट झरेको सालनालभरी
छरपस्ट भएको थियो रे
हर्षहरु कतै लुकेका थिए रे
खुशीहरु अन्तै गएका थिए रे
माइलीको आगमनमा
पितृसत्ता किन हो कुन्नी
निकै डराएको थियो रे

आमाले मलाई भन्नु भएको
मेरो जन्मको कथा हो यो
आमाको गर्भबाट स्त्रीको आगमन हुदा
समाज डराउनु
त्यो भन्दा डरलाग्दो चिज अरु के हुनसक्छ ?
अर्थात माइलीको आगमनमा कोही किन डराउछ ?

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo