पाथीभराको नाममा अवैध सहयोग संकलन रोक्न प्रशासनलाई आग्रह
Phaktanglung Darpan
असाेज १६ गते २०८१
9:06 am
फक्ताङलुङ दर्पण
पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग सङ्कलनको अनियमितता रोक्न जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाएको छ। समितिले मंगलबार लिखित अनुरोधमा उक्त सहयोग संकलनमा निगरानी गर्न अपील गरेको हो।
समितिका अध्यक्ष रक्की थेबेले पाथीभरालाई नेपालको प्रमुख धार्मिक स्थलका रूपमा चिनाउँदै यस स्थानको नाममा भइरहेको आर्थिक सहयोग संकलन गलत अभ्यास भएको जानकारी दिएका छन्। पत्रमा पाथीभरा मन्दिर निर्माणका लागि अवैध रूपमा सहयोग सङ्कलन भइरहेको उल्लेख गरिएको छ।
समितिका अनुसार, यस्ता गतिविधिहरूले जनमानसमा भ्रम फैलाउने र आर्थिक अनियमितताको सम्भावना बढाउने खतरा रहेको छ। यसकारण, समितिले पाथीभराको नाममा भइरहेका अनियमित गतिविधिहरू तुरुन्त रोक्न र सम्बन्धित निकायलाई छानबिन गर्न आग्रह गरेको छ।