श्रावण १० गते २०८३
09:37: AM
श्रावण १० गते २०८३
09:37: AM

पूर्वी पहाडमा विद्युत् अवरुद्ध: मोबाइल चार्जदेखि उद्योग र सञ्चारमाध्यम ठप्प

असाेज १४ गते २०८१
12:00 pm
Author Avatar
फक्ताङलुङ दर्पण

शनिबार दिउँसोदेखि पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, र इलाम जिल्लामा विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । विद्युत् आपूर्ति बन्द हुँदा मोबाइल चार्ज गर्न समस्या भएपछि नागरिकहरू झनै प्रभावित भएका छन् । यिनै जिल्लाका सदरमुकामदेखि गाउँ–नगरसम्म अन्धकारमा डुबेको छ, जसले गर्दा दैनिकी मात्र होइन, सञ्चार र उद्योग क्षेत्रमा पनि गम्भीर असर परेको छ ।
बाढी र पहिरोका कारण काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति पुग्नाले विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार, इलामको माई नगरपालिकास्थित महमाईमा रहेको ५१ नम्बरको टावर ढलेपछि प्रसारण लाइनमा समस्या उत्पन्न भएको छ । यसबाट ५०, ५२, र ५३ नम्बरका टावरहरूमा समेत तार तानिएर क्षति पुगेको छ । नतिजास्वरूप, ताप्लेजुङ, पाँचथर, र इलाम जिल्लामा सञ्चालित विद्युत् आयोजना ठप्प भएका छन् ।
यो विद्युत् प्रसारण लाइन पूर्वी पहाडका जिल्ला हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यस लाइनको माध्यमबाट पूर्वी पहाडमा उत्पादित बिजुली वितरण हुने गरेको थियो, तर टावर ढलेपछि तीनवटै जिल्लामा विद्युत् सेवा बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रमुख विजुलीप्रसाद यादवले दिएको जानकारी अनुसार, यस क्षेत्रमा झन्डै १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । टावरमा क्षति पुग्नुअघि दैनिक १८५ मेगावाट विद्युत् प्रवाह भइरहेको थियो ।
सञ्चारमाध्यम र उद्योग ठप्प
विद्युत् सेवा अवरुद्ध हुँदा यी जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरू पनि प्रभावित भएका छन् । रेडियो स्टेसनहरू, पत्रपत्रिका, अनलाइन न्युज पोर्टलहरू बन्द हुँदा नागरिकहरू समाचार तथा सूचना सम्प्रेषणबाट टाढिएका छन् । सञ्चारमाध्यममा विद्युतको महत्त्व झन् प्रस्ट देखिएको छ, जसले गर्दा सूचना प्रवाहमा अवरोध पुगेको छ ।
सञ्चारमाध्यममात्र होइन, मोबाइल चार्ज गर्न नपाउँदा नागरिक समेत सास्ती खेप्नु परेको छ । मोबाइल चार्ज गर्न अन्य ठाउँमा जानु पर्ने बाध्यता बढेको छ, जसले नगरिकको समय र स्रोतमा थप चुनौती खडा गरेको छ । यसैगरी, साना र ठूला उद्योगहरूले पनि विद्युत् अभावको कारण उत्पादन ठप्प पार्नुपरेको छ । कतिपय उद्योगहरूलाई जेनेरेटर चलाएर काम गर्नुपर्ने अवस्था आएको छ, तर यो समाधान पर्याप्त नभएको व्यवसायीहरू बताउँछन् ।
विद्युत् मर्मत प्रयास जारी
नेपाल विद्युत् प्राधिकरणले क्षतिग्रस्त टावरको मर्मत कार्यलाई तिब्रता दिएको छ । नेपाल विद्युत प्रविधिकरण ताप्लेजुङका प्रमुख अनुसार सरेश प्रसाद चौधरीले भन्नुभयोे, “यस क्षतिले ठूलो मात्रामा विद्युत् आपूर्तिमा अवरोध पुगेको छ हामीले सकेसम्म चाँडो मर्मत कार्य सम्पन्न गरेर बत्ती बाल्ने प्रयास गरिरहेका छौँ ।
बाढी र पहिरोको दीर्घकालीन असर
बाढी र पहिरोका कारण पूर्वी पहाडमा बारम्बार यस्ता समस्या आइरहेका छन् सडक अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि प्रभावित हुँदा जनजीवन कठिन भइरहेको छ । ाबेली करिडोरको प्रसारण लाइनमा पुनः यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान खोजिनुपर्ने स्थानीय जनताको माग छ पूर्वी पहाडी क्षेत्रमा वर्षाको समयमा नियमितरूपमा बाढी र पहिरोले भौतिक संरचना बिगार्ने गरेको छ, जसको असर जनजीवनमा परेको छ ।
सञ्चार, उद्योग, र दैनिक जीवनका हरेक क्षेत्रमा विद्युत्को महत्त्व रहने भएकाले यसलाई लामो समयसम्म मर्मत नगरिएको अवस्थामा गम्भीर असर पर्ने देखिएको छ विशेष गरी सञ्चारमाध्यमहरू बन्द हुनु र मोबाइल सेवा प्रभावित हुनुले नागरिकहरू सूचना प्राप्त गर्न असमर्थ भएका छन्, जसले विभिन्न सेवाहरूमा समस्या खडा गरिरहेको छ।
विद्युत् सेवा पुनः सुचारु गर्न प्रयास भइरहे पनि मर्मत कार्यमा ढिलाइ भएमा यसले अझै केही दिन जनजीवन प्रभावित पार्ने अनुमान गरिएको छ। स्थानीयबासी र व्यवसायीहरू भने छिटोभन्दा छिटो सेवा सुचारु गर्न सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गरिरहेका छन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo