स्व.रणबहादुर लिङखिम प्रतिष्ठानद्वारा खेलमैदान निर्माणका लागि सहयोग
Phaktanglung Darpan
असाेज ९ गते २०८१
5:14 pm
फक्ताङलुङ दर्पण
स्वर्गीय रणबहादुर लिङखिम स्मृति प्रतिष्ठानले ताप्लेजुङको मैवाखोला मावि तेम्बेको खेल मैदान निर्माणा गर्नका लागि सहयोग उपलब्ध गराएको छ । बुधवार प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर खेल मैदान निर्माणका लागि सहयोग उपलब्ध गराएको हो । प्रतिष्ठानका सदस्य दिनेश लिङखिमका अनुसार एक लाख एक हजार १०० रुपैयाँ प्रदान गरेको छ । विगत ५ बर्ष देखि सामाजिक सहयोग गर्दै आइरहेको प्रतिष्ठानले यसपटक सो माविको खेलमैदान निर्माणका लागि उक्त सहयोग गरेको प्रतिष्ठानका सदस्य लिङखिमले जानकारी दिनुभयो । मैवाखोला मावि तेम्बेको खातामा जम्मा हुने गरी बिद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमबहादुर वनेम र प्रधानाध्यापक भक्तबहादुर लिम्बूलाई पठाइएको समेत लिङखिमले जानकारी दिनुभयो । प्रतिष्ठानले स्थापनाको पहिलो बर्ष २०७७ सालमा कोरोना संक्रमण बिरुद्ध अग्रभागमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सञ्चारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको थियो । २०७८ सालमा फरक क्षमता भएका यहाँका बिद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको थियो भने २०७९ सालमा ताप्लेजुङमा रहेका दृष्टीविहिन सदस्यहरुलाई न्यानो कपडा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार २०८० सालमा यूवाबर्ष मावि कैंजलेमा अध्ययनरत २४० जना बिद्यार्थीहरुलाई करिव दुई लाख रुपैयाँ मूल्य बराबरको शैक्षिक सामग्री प्रदान गरिएको थियो । बिद्यालयमा खेल मैदानको निर्माण तथा बिस्तारको काम गरिरहेको मैवाखोला माविलाई यसबर्ष एक लाख एक हजार १०० रुपैयाँ सहयोग गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । विक्रम् सम्वत २००४ सालमा जन्मनु भएका पूर्व ब्रिटिस गोर्खा सैनिक रणबहादुरको २०५३ साल असोज ९ गते बुधवार निधन भएको थियो । २०२५ सालमा ब्रिटिस गोर्खा सैनिकमा भर्ना हुनुभएका रणबहादुर २०४० सालमा सेवा निवृत्त हुनु भएको थियो । मृत्यु पछि रणबहादुरका परिवारले उहाँको स्मृतिमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले प्रतिष्ठान खोलेर त्यसयता बर्षेनि सहयोग गर्दै आइरहनु भएको छ ।…