अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको १२ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ, जसमा अनिता पन्दाक अध्यक्ष पदमा निर्वाचित भएकी छन् । बिहीबार सदरमुकाम फुङ्लिङमा सुरु भएको सम्मेलनमा शुक्रबार सम्पन्न निर्वाचनमा पन्दाकले ७९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी तेन्जित कार्कीले ५४ मत ल्याए भने ४ मत बदर भएको थियो । सम्मेलनमा सुरुमा सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचन गराउनुपरेको थियो । मतदानको प्रक्रियाबाट नेतृत्व चयन गरिएको नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा रोसन सावादेन, काजीमान विष्ट, र मनिता रसाईली निर्वाचित भएका छन् । सचिव पदमा हेमन्त पौडेल चयन भए भने सह–सचिवको जिम्मेवारी रानु गुरुङ, मिलन कालिकोटे, र निकिता आङबुहाङ चयन हुनुभएको छ नयाँ कार्यसमितिको कोषाध्यक्षमा सुजन अन्छङ्बो निर्वाचित भएका छन् । यो सम्मेलनबाट ३९ सदस्यीय नयाँ जिल्ला समिति चयन गरिएको छ, जसले अब ताप्लेजुङ जिल्लामा विद्यार्थीहरूको हकहितमा काम गर्नेछ ।अध्यक्ष अनिता पन्दाकले नेतृत्व सम्हाल्दै विद्यार्थीहरूको आवाजलाई सशक्त बनाउन र संगठनलाई थप क्रियाशील बनाउन पहल गर्ने बताउनुभयो ।…