महान शहीद स्मृति प्रतिष्ठान ताप्लेजुङले बुधवार (ताप्लेजुङका शहीदहरू) नामक पुस्तक सार्वजनिक गरेको छ । पुस्तकमा १० वर्षे सशस्त्र युद्धका क्रममा मारिएका, बेपत्ता भएका तथा विभिन्न राजनीतिक द्वन्द्वका कारण ज्यान गुमाएका ताप्लेजुङका नागरिकहरूको पारिवारिक तथा राजनीतिक विवरणहरू समेटिएका छन् । साथै, शहीदहरूको ज्यान गुमाएको स्थान र परिस्थितिको चित्रण गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति अध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष विष्णुकुमार हाङवाङ (विरु) का अनुसार, पुस्तक कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा प्रकाशित गरिएको हो । हाङवाङले यसअघि वातावरण संरक्षण तथा विकास मञ्चद्वारा प्रकाशित विवरणहरूलाई आधार मानी यो पुस्तकमा शहीदहरूको विवरण समेटिएको जानकारी दिनुभयो ।
पुस्तकमा १३७ जना ताप्लेजुङका शहीदहरूको नामावली समावेश गरिएको छ । साथै, पश्चिम नेपालबाट आई ताप्लेजुङमा बलिदान दिने जगत थापा सहित १३८ जनाको नाम उल्लेख गरिएको छ । पुस्तकमा ’१० वर्षे द्वन्द्वका कारण विद्रोहीहरूद्वारा ज्यान गुमाएका नागरिकहरू’ शीर्षकमा टकबहादुर सुब्बा, नारद निरौला, रामकुमार साँवा, मचिन्द्र महतारा, श्रीप्रसाद गौतम, टेकबहादुर अन्छङ्वो, मोहन चुडाल, निधीनारायण भट्टराई लगायत ३२ जनाको नाम उल्लेख गरिएको छ ।
यसैगरी, ’द्वन्द्वका कारण बेपत्ता भएका नागरिक तथा योद्धा’ शीर्षकमा फुङलिङका काशीनाथ गौतम र सिदिङ्वा गाउँपालिका–७, सुरुम्खिमकी मनकुमारी राई (दिव्या) को नाम समावेश गरिएको छ। विभिन्न राजनीतिक द्वन्द्वका कारण ज्यान गुमाएकाहरूमा हरि नेपाल, इन्द्र थेबे, रुकमान थेबे र लक्ष्मीप्रसाद पाण्डेको नाम उल्लेख गरिएको छ ।
पुस्तकमा आफ्नो विचार व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले ताप्लेजुङमा अहिलेसम्म १५० शहीदहरूको घोषणा भइसकेको र केही अझै घोषणा गर्ने क्रममा रहेको बताउनुभएको छ । उहाँले द्वन्द्वका कारण बेपत्ता भएकाहरूको स्थिति अझै स्पष्ट हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ ।
यो पुस्तक ८३ पृष्ठ लामो छ र आवरणसहितको शुभकामना मन्तव्य पनि समावेश गरिएको छ। पुस्तक सार्वजनिक कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ, जिल्ला समन्वय समिति प्रमुख तथा नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ शेर्पा, माओवादी केन्द्रका केन्द्रीय सदस्य पर्शुराम कार्की लगायतका अगुवाहरू उपस्थित हुनुभएको थियो । उहाँहरूले पुस्तकमाथि टिप्पणी गर्दै आफ्ना राय पनि व्यक्त गर्नुभएको थियो ।…
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
