ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालन हुन लागेको ताप्लेजुङ गोल्डकप खेल हेर्नका लागि बनाएको बाँसका प्याराफिट ।
आउँदो भदौ ३ गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिकाअनुसार चार–चार टोली रहेको दुई समूहबिच प्रतिस्पर्धा हुने छ ।
समूह ‘ए’ अन्तर्गत प्रिक्वार्टर खेलमा स्थानीय सङ्घर्ष स्पोर्टिङ युवा क्लब र कञ्चनजङ्घा फुटबल क्लब सिलिगुढी भारतबिच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै सोही समूहको अर्को बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा युथ क्लब मोरङबिच हुने छ । यस्तै समूह ‘बी’अन्तर्गत पाँचथर फुटबल क्लब पाँचथर र सलहेश युवा क्लब सिराहाको प्रिक्वार्टरमा स्पर्धा हुने छ ।
बी समूहकै अर्को खेल त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र विर्तामोड युनाइटेड फुटबल क्लब झापाबिच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ ।
यता प्रतियोगिताको समय नजिकिएसँगै तयारी तीब्र रुपमा भइरहेको पनि समिति अध्यक्ष गुरुङले बताए । उनका बाँसको प्रयोग गरी अस्थायी प्याराफिट (दर्शकदिर्घा) निर्माणको कामलगायत तयारी धमाधम भइरहेको छ । प्रतियोगिता भदौ १० गते सम्पन्न हुने छ ।