ताप्लेजुङमा लोपोन्मुख प्रजाति सालकको उद्धार गरिएको छ । सोमबार फुङ्लिङ नगरपालिका—७ एैश्वर्या चोकको सडकबाट प्रहरीले सालक उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमल कुमार लुङगेलीका अनुसार प्रहरी टोलीले सालकलाई सफलतापूर्वक उद्धार गरी ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा सकुशल ल्याएको थियो । सालकलाई उचित हेरचाह र स्थानान्तरण सुनिश्चित गर्न ताप्लेजुङस्थित डिभिजन वन कार्यालयलाई घटनाको बारेमा तुरुन्तै जानकारी गराइएको थियो । आज विहान सालकलाई फरेस्ट फुपु गाल्भु शेर्पा र अम्बिका विष्टलगायत पाथीभरा उप–डिभिजन वन कार्यालयका कर्मचारीलाई हस्तान्तरण गरिएको लुङगेलीले बताउनुभयो । वन कार्यालयका कर्मचारीहरूले सालकलाई उपयुक्त बासस्थानमा सुरक्षित फिर्ता गर्नको लागि जिम्मेवारी दिएको प्रहरीले जनाएको छ । लोपोन्मुख प्रजातिहरूको अस्तित्व सुनिश्चित गर्न र पारिस्थितिक सन्तुलन कायम गर्न सबैको महत्व पूर्ण भूमिका रहेको डिभिजन वनकार्याल ताप्लेजुङले जनाएको छ ।