फुङ्लिङ ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिम शिखर कञ्चनजंघा क्षेत्रमा दोस्रो सिजनमा २७० जना बाह्य पर्यटकले पुगेका छन् । फागुन देखि जेठ १३सम्ममा सो संख्यामा बिदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा भ्रमण गरेका हुन । एक आर्थिक वर्षमा कञ्चनजंघा हिमाल क्षेत्रमा दुई सिजनमा पर्यटक आउने गरेका छन् । पहिलो सिजन असोज,कात्तिक र मंसिर गरी तीन महिना समयलाई पहिलो सिजन पर्दछ । त्यस्तै चैत,बैशाख र जेठको तेस्रो साताको समयलाई दोस्रो सिजन भित्र पर्ने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । परिषद्को घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार फ्रान्स,जर्मन, बेलाय अस्टेलिया क्षेत्रका राष्ट्रियहरुबाट कञ्चनजंघा क्षेत्रमा बढी पर्यटकहरु आएका छन् । पर्यटक आगमनमा सुधार हुदै गएसंगै कञ्चनजंघा जाने पदमार्गमा रहेको होटल व्यावसायी तथा पर्यटन वयवसायीहरु उत्साहित भएको फक्ताङलुङ गाउापालिका—६ घुन्साका होटल संञ्चालक पेमा शेर्पाले बताउनुभयो । घुन्सा पर्यटन चोक पोष्ट कार्यालयका अनुसार यस वर्षको पहिलो सिजनमा कञ्चनजंघा क्षेत्रमा ६५० जान बाह्य पर्यटकले कञ्चनजंघा क्षेत्र भ्रमण गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको अन्तिम सिजन अर्थत दोस्रो सिजनमा २७० जना बाह्य पर्यटकले कञचनजंघा क्षेत्रमा भ्रमण गरेका छन् । आन्तरिक पर्यटक समेत उतिकै संख्या बराबरले भ्रमण गरेता पनि आन्तरिक पर्यटकहरुको भने अहिले सम्म अभिलेख राख्ने गरिएको छैन । गत वर्ष दुई सिजन गरी ४३९ जना बाह्य पर्यटकले मात्र कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका थिए । कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ वटा होटल सञ्चालनमा छन् .