ताप्लेजुङ ः समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा एकै दिनमा आठ हजार भन्दा बढीले पूजापाठ गरेका छन् । आज(मंगलबार आठ हजार ५०० जना भक्तजनहरु पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका छन् । मंगलबार चालू आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्ने मध्येको सबैभन्दा धेरै रहेको पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । महतका अनुसार दसैँको नवरात्र देखि दसैँ अवधि भरमा एकै दिन ६ हजार ६ सय जनाले मन्दिरको दर्शन गरेको अभिलेख छ । तर मंगलबार साढे आठ हजारले पाथीभरमा मन्दिरमा पुगेर दर्शन गरेका छन् । दर्शनार्थी बढी भएपछि केही समय मन्दिर दर्शनको लाइन व्यवस्थापन समेत हम्मे परेको महतले बताउनुभयो । पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको अगुवाइ र समन्वयमा मन्दिर दर्शन प्रक्रिया सहज बनाउन सहयोगीहरुले भूमिका खेल्दै आएका छन् । दसैँको अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार ३६८ जनाले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ । यसबर्ष भने दसैँपछि भने दर्शनार्थी बढ्न थालेको पाथीरभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा दर्शन गर्न मौसम अनुकूल रहेको, सडक समेतमा मर्मत सम्भार र स्तरोन्नतिको कार्य चलिरहेको र आउँदा जाँदा समस्या समेत कम हुन थालेपछि तीर्थालु थपिन थालेका छन् ।…