भाद्र २६ गते २०८३
09:58: PM
भाद्र २६ गते २०८३
09:58: PM

ताप्लेजुङ गोल्डकप : फिदिम स्पोर्टिङ क्लब फाइनलमा

भाद्र १७ गते २०८३
7:21 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा झापा–११ फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फिदिमले फाइनलमा स्थान बनाएको हो।

फिदिम स्पोर्टिङ क्लबको जितमा सुशन जबेगुले निर्णायक गोल गर्नुभयो। उहाँले खेलको ३४औँ मिनेटमा गरेको गोल नै फिदिमको जितका लागि पर्याप्त बन्यो।

प्रतिस्पर्धात्मक खेलमा झापा–११ ले गोल फर्काउन निरन्तर प्रयास गरे पनि सफल हुन सकेन। खेलमा फिदिमका मिराक खजुम ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो।

यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता सिराहाको सलहेस युथ क्लबले भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ। आयोजक समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपैयाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो। त्यस्तै, टिकट काटेर खेल हेर्ने दर्शकमध्ये एक जना भाग्यशाली दर्शकलाई स्कुटर उपहार प्रदान गरिने उहाँले बताउनुभयो।

लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए। गोल्डकप फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo