श्रावण १ गते २०८३
02:57: AM
श्रावण १ गते २०८३
02:57: AM

ताप्लेजुङमा भालुको आतङ्कः नियन्त्रणका लागि खोर राखियो

पौष ९ गते २०८२
5:18 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा केही दिनयता हिमाली कालो भालुले निरन्तर पशुचौपाया आक्रमण गरी क्षति पु¥याउन थालेपछि नियन्त्रणका लागि खोर राखिएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङको अगुवाइमा भालु नियन्त्रण गर्ने उद्देश्यले फलामका रड प्रयोग गरी खोर निर्माण गरी राखिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ताप्लेजुङका अध्यक्ष सुरज ओझाका अनुसार फुङ्लिङ नगरपालिका–९ हाङदेवाको बुङ्कुलुङ धुपौरे क्षेत्रमा भालुले पछिल्लो डेढ सातायता घरपालुवा भेडा र बाख्रामा आक्रमण गर्दै आएको छ । एउटै क्षेत्रमा पटक–पटक भालुले क्षति पु¥याउन थालेपछि मंगलबार नियन्त्रणका लागि खोर राखिएको उहाँले बताउनुभयो ।

भालुले आक्रमण दोहो¥याउने प्रकृति देखिएपछि बाख्राको खोर नजिकै भालु नियन्त्रणको खोर राखिएको फेकोफनका जिल्ला अध्यक्ष ओझाले जानकारी दिनुभयो । भालु फेरि पनि सोही स्थानमा आउनसक्ने अनुमानका आधारमा सावधानी अपनाइएको उहाँको भनाइ छ ।

निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादव, फेकोफन जिल्ला अध्यक्ष ओझा, वडाध्यक्ष लक्ष्मण गुरुङ, नेपाल प्रहरीका प्रतिनिधि लगायतको उपस्थितिमा खोर राखिएको हो ।

डिभिजन वन कार्यालयका अनुसार बुङ्कुलुङ धुपौरे क्षेत्रमा गत मङ्सिर २८ गतेदेखि हालसम्म भालुले भेडा र बाख्रा गरी आठ वटा मारेको छ भने तीन वटा बाख्रालाई सख्त घाइते बनाएको छ । सोमबार राति मात्र स्थानीय नारायण भण्डारी र पदम गुरुङका दुई वटा बाख्रा भालुले मारेको थियो भने दुई वटा घाइते बनाएको थियो ।

यसअघि आइतबार राति भीमकुमार गुरुङका दुई वटा बाख्रा र पुस ४ गते एकैदिन भगिमान गुरुङका चार वटा बाख्रा भालुले मारेको डिभिजन वन कार्यालयले जनाएको छ । त्यसअघि मङ्सिर २८ गते नारायण गुरुङको एउटा भेडा भालुले मारेको थियो ।

भालुको निरन्तर आक्रमणका कारण स्थानीयवासी त्रसित बनेका छन् । पशुचौपाया मात्र होइन, मानिसमाथि पनि आक्रमण हुनसक्ने चिन्ता बढेपछि सोमबार निमित्त डिभिजनल वन अधिकृत यादवको नेतृत्वमा सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo