ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा भदौ महिनाभर करिब दश लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भदौ महिनामा मात्र नौ लाख ९७ हजार रुपैयाँ भेटी रकम संकलन भएको हो । भक्तजनले चढाएको भेटी तथा दानबाट संकलित रकम समितिले प्रत्येक महिना सार्वजनिक गर्ने परम्परा रहेको छ । यसअघि साउन महिनामा संकलन भएको भेटी रकम १० लाख ३९ हजार रुपैयाँ थियो । समितिले दिएको जानकारीअनुसार भदौ महिनामा मात्र चार हजार ५०३ जना भक्तजनले पाथीभरा दर्शन गरेका छन् । भक्तजन नेपालका विभिन्न जिल्ला मात्र नभई छिमेकी भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाललगायत स्थानबाट पनि पाथीभरा पुग्ने गरेका छन् ।