श्रावण २ गते २०८३
02:58: AM
श्रावण २ गते २०८३
02:58: AM

बँदेलबाट अन्नबाली जोगाउन मुस्किल

भाद्र २९ गते २०८२
7:16 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसानले अन्नबाली जोगाउन मुस्किल भएको बताएका छन् । पाक्न लागेका अन्नबाली बँदेल तथा अन्य वन्यजन्तुबाट जोगाउन कठिन भएको उनीहरूको गुनासो छ ।

कालिखोला क्षेत्रका किसान विगतदेखि नै वन्यजन्तुबाट पीडित हुँदै आएका छन् । वर्षभर लगाएको अन्नबाली वन्यजन्तुले एकै रातमै सखाप पार्ने गरेको किसानहरूको भनाइ छ । विगतमा यस क्षेत्रमा भालुले बढी दुःख दिने गर्थ्यो, तर अहिले बँदेलले किसानलाई सताउन थालेको शेरबहादुर बानियाँले बताए । उनका अनुसार कालिखोला क्षेत्रमा हाल करिब २५–३० घरधुरी वन्यजन्तुबाट पीडित भएका छन् ।

“वन्यजन्तुबाट प्रत्येक वर्ष प्रत्येक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली क्षति हुँदै आएको छ,” बानियाँले भने, “पहिले भालुले अन्नबाली खाने गर्थ्यो, अहिले केही ठाउँमा भालुको संख्या घटेको छ तर बँदेलले भने बढी दुःख दिन थालेको छ ।”

बाली पाक्ने समयमा किसानलाई रातभर बारीमा जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ । हाल मकै पाक्ने समय भएकाले राति बँदेलले आएर पाकेको मकै सखाप पार्ने गरेको बानियाँले जानकारी दिए । “एउटा माउ र दुई वटा बच्चासहित तीन वटा बँदेल राति मकै खान आउँछन्, तर दिउँसो भने कहाँ जान्छन् थाहा हुँदैन,” उनले भने, “मकै अझै पूरै पाकिसकेको छैन, तर पाक्दासम्म बँदेलले खाएर सकाउँछन् । त्यसपछि हामीले के खानु ?”

मकै सकिएपछि बँदेलले पिँडालु, सुडुनी, सिमी, आलु लगायत अन्य बालीमा समेत क्षति पुर्‍याउने गरेको किसानहरूको भनाइ छ । वन्यजन्तुबाट बाली जोगाउन मुस्किल भएपछि केही परिवार बसाइँ सरेका छन् भने केहीले बारी बाँझो छोडेर पेशा परिवर्तन गरेका छन् । सरोकारवाला निकाय र स्थानीय तहबाट अहिलेसम्म कुनै पहल नभएको किसानहरूको गुनासो छ ।

वन्यजन्तुबाट अन्नबाली क्षति भएवापत किसानलाई राहत तथा क्षतिपूर्ति दिने कार्यविधि नभएकाले गाउँपालिकाले सहयोग गर्न नसकेको सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष विष्णुकुमारी “बन्दना” कडरियाले बताइन् । किसानले लेखित रूपमा निवेदन ल्याएमा कार्यपालिकाले निर्णय गरी केही राहत दिन सकिने उनले उल्लेख गरिन् ।

वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० अनुसार १६ प्रजातिका वन्यजन्तुले गरेको क्षतिको भरपाई पाइने व्यवस्था छ । तर निर्देशिका अनुसार बँदेलले अन्नबाली नष्ट गरेवापत भने राहत नपाइने डिभिजन वन कार्यालय ताप्लेजुङका वन अधिकृत प्रमेश्वर पासवानले जानकारी दिए ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo