फुङ्लिङ, ७ असारः
शिक्षामा प्रोत्साहनमार्फत शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यसाथ ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सार्वजनिक रूपमा सम्मान गरेको छ। विहीबार सम्पन्न १७औं गाउँसभाको अधिवेशनमा विभिन्न तहका शैक्षिक उपलब्धिलाई सम्मान गर्दै उदाहरणीय अभ्यासको थालनी गरिएको हो।
एसईई परीक्षामा उच्च प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले २०७९ सालको परीक्षाबाट सिदिङ्वा–२ का रोशन प्याकुरेल (GPA 3.15) र सिदिङ्वा–६ की अस्मिता राई (GPA 3.00) लाई सम्मान ग¥यो। यस्तै, २०८० सालको परीक्षाबाट सिदिङ्वा–५ का प्रोगेश ईदिङ्गो (GPA 3.17) र अनुसा लिम्बू (GPA 3.03) लाई नगद पाँच हजारसहित प्रमाणपत्र प्रदान गरियो।
गाउँपालिकाले विद्यालयस्तरको शैक्षिक सुधारका लागि पनि उदाहरणीय पहल देखाएको छ। कक्षा ८ को पालिकास्तरीय परीक्षामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने तीन विद्यालयलाई नगदसहित सम्मान गरियो।
- प्रथम: बालकल्याण मावि, सुरुमखिम – नगद २०,००० (४७.८३% उर्त्तीण)
- दोस्रो: सिंहेश्वरी मावि, सिदिङ्वा–३ – नगद १५,००० (२६.३२% उर्त्तीण)
- तेस्रो: सिद्धेश्वरी मावि, सिदिङ्वा–२ – नगद १०,००० (२५% उर्त्तीण)
यस्तै, व्यक्तिगत रूपमा उच्चतम GPA ल्याउने विद्यार्थीहरूमध्ये सिद्धेश्वरी माविका प्रमोद कार्की (GPA 3.85) र बालकल्याण माविकी सारदा पौडेल (GPA 3.36) लाई समेत नगद पाँच हजार रुपैयाँसहित सम्मान गरियो।
गाउँपालिका अध्यक्ष मानबहादुर राई का अनुसार, "शिक्षामा लगानी गर्न सकिएको प्रत्येक कदम दीर्घकालीन विकासको जग हो। हामी हाम्रा विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै शिक्षालयहरूको स्तरोन्नति गर्दै जान्छौं।"
यस सम्मान कार्यक्रमले सिदिङ्वा गाउँपालिकाभित्र शैक्षिक उत्कृष्टता र प्रतिस्पर्धाको सकारात्मक वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
