श्रावण ५ गते २०८३
04:46: AM
श्रावण ५ गते २०८३
04:46: AM

गृहमन्त्रालयद्वारा ‘नो केबलकार समूह’लाई पुनः वार्तामा आउन आह्वान

फागुन ९ गते २०८१
9:02 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको पाथीभरा केवलकार निर्माणबारे जारी आन्दोलनका क्रममा गृहमन्त्रालयले ‘नो केबलकार समूह’लाई पुनः वार्तामा आउन आह्वान गरेको छ। शुक्रबार गृहमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत समूहलाई वार्तामा सहभागिता जनाउन आग्रह गरेको हो।

गृहमन्त्रालयले गत माघ १० गते गठन गरेको वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै मंसिर २२ गतेदेखि सुरु भएको वार्ता प्रक्रियालाई पुनः अघि बढाउन ‘नो केबलकार’ समूहलाई अनुरोध गरेका छन्। सो वार्ताका क्रममा ६ बुँदे सहमति भए पनि मंसिर २७ गतेको दोस्रो वार्ता निष्कर्षविहीन बनेपछि आन्दोलन पुनः चर्किएको थियो।

सहसचिव भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पाथीभरा क्षेत्रमा केवलकार निर्माणका सन्दर्भमा उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको समाधानका लागि वार्ता र संवादमार्फत सहमति खोज्न वार्ता समिति गम्भीर रहेको छ। तसर्थ, वार्तामा आउन हार्दिक अपिल गर्दछ।”

गृहमन्त्रालयको विज्ञप्तिमा पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा देखिएका समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ता टोली सक्रिय रहेको उल्लेख गरिएको छ।

यसैबीच, पहिचानवादी समुदायले मुक्कुम्लुङ क्षेत्रलाई आफ्नो धार्मिक तीर्थस्थल मान्दै केवलकार परियोजनाको विरोध गर्दै आएका छन्। उनीहरूले केवलकार निर्माणले सांस्कृतिक सम्पदामा असर पार्ने दाबी गर्दै ‘नो केबलकार’ आन्दोलन चर्काइरहेका छन्।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार बिहीबार आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। घटनामा १३ जना घाइते भएका छन्, जसमा ६ जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेका छन्। साथै, झडपका क्रममा एक गाडी तोडफोड भएको र त्यसका चालक गम्भीर घाइते भएको बताइएको छ।

पाथीभरा केवलकार परियोजनाबारे विभिन्न पक्षबीच मतभेद रहँदा आन्दोलनको चपेटामा स्थानीयवासी परेका छन्। यसअघि भएको वार्ता निष्कर्षविहीन बनेपछि सरकारले पुनः संवादको वातावरण बनाउन प्रयास गरिरहेको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo