सडकको पहुँज पुगेसंगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती क्षेत्र फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोला पुग्न सकिने भएको छ । गत सातामात्र ओलाङचुङगोला गाडी पुगे पछि स्थानीसंग खुशी साटा साट गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले पाटीको अध्यक्ष केपी शर्मा ओलीसहितको टोली ओलाङचुङ गोला पुगेर खुसि साटा—साट गरिएको थियो । ओलाङचुङगोला सडक पुगंसै स्थानी खुशी भएका छन् । विगतमा वर्षहरुमा सदरमुकाम फुङ्लिङ देखि ओलाङचुङगोला पुग्न तीन दिन यात्रा गरे पछि मात्र ओलाङचुङगोला पुग्न सकिन्थ्यो । विस्तरै तमोर कोरिडोर सडकको ट्र्याक खुलाउँने कार्यसंगै ओलाङचुङगोला पुग्न सहज हुदै गएको थियो । विगत केही समय इलाडाँडा सम्म यातायात पुग्ने गर्दथ्यो । इलाडाँडा देखि पैदालमार्ग हुदै एक दिनमा ओलाङचुङगोला पुग्ने गरिन्थ्यो । तर गत विहिबार भने गाडी ओलाङचुङगोला सम्म नै पुगेको फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलाका वडा अध्यक्ष छेतेन लामाले बताउनुभयो । लामाका अनुसार ताप्लेजुङको सदरमुकाम फुङ्लिङ देखि करिब सात घण्टामा ओलाङचुगोला पुग्न सकिने बताउनुभयो । गत सनिवार नयाँ वर्ष मनाउँन समेत ठुलो संख्यामा ओलाङच्ङगोला क्षेत्रमा पुगेको लामाले बताउनुभयो । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै तमोर कोरिडोरले ओलाङचुङगोलाहुदै चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको छ । तमोर कोरिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङगोला खण्डमा २०७४ फागुनदेखि ट्र्याक निर्माणको काम सुरु भएको थियो । कोरोना महामारी र सामान्य रूपमा अन्य अवरोधका कारण ट्र्याक निर्माण सुरु भएको छ वर्षपछि मात्र काम सम्पन्न भएको हो । निर्माण कम्पनी एलाइट जेभी कम्पनीका आयोजना सम्पर्क अधिकृत (साइड इन्चार्ज) राजीव लामिछानेका अनुसार बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बत–नेपाल सिमाना टिपतालालाई सडकले जोडेको छ । उहाँका अनुसार लेलेप र तापेथोकको सिमाना रानीपुलदेखि ओलाङ्चुङगोलातर्फ ३७ किलोमिटर दुरी बराबर ट्र्याक निर्माणको काम गर्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो । उत्तर दक्षिण (सुभाङ खोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्र्यालयमार्फत ट्र्याक निर्माणको काम भइरहेको छ । लेलेप–ओलाङ्चुङगोला खण्डमा ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पाँचथरको सुभाङ खोलादेखि टिपतालासम्म १२१ किलोमिटर सडकको ट्र्याक जोडिएको योजना कार्यालयले जनाएको छ । यता ट्र्याक निर्माण भइसकेपछि तिब्बतसँगको सिमाना टिपतालासम्म तमोर कोरिडोरमा तत्काल यातायात सञ्चालन हुने अवस्था भने नभएको बताइएको छ । ट्र्याक जोडिए पनि पहिले निर्माण भएको टिपतालासम्मको करिब २४ किलोमिटर दुरीभित्र सडक सरसफाइ, मर्मत तथा पुनर्निर्माणको काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन हुने अवस्था नरहेको हो । टिपतालादेखि ओलाङ्चुङगोला हुँदै जङ्गिन नजिकसम्म गोलाका स्थानीयले रकम सङ्कलन गरी ट्र्याक निर्माण गरेका थिए । नयाँ र पुरानो ट्र्याक जोडिएको ठाउँदेखि जङ्गिन हुँदै ओलाङ्चुङगोला बस्ती, मौवाटार–टिपतालासम्म सडक मर्मत तथा पुनर्निर्माण गर्न करिब दुई महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ । ओलाङचुगोलादेखि टिपतालासम्म भने ट्र्याक मर्मतका साथै पुनर्निर्माणको काम सम्पन्न भएपछि हिउँद मौसमभर यातायात सञ्चालन हुन सक्ने बताइएको छ । बर्खा मौसममा भने तमोर नदीसहित दर्जनौँ अन्य साना ठुला खोलामा पुल आवश्यक पर्ने भएकाले मोटर गुढ्ने पुल निर्माण नभएसम्म यातायात सञ्चालन नहुने सडक योजनाले जनाएको छ । तमोर कोरिडोरलाई नेपाल, भारत र चीन जोड्ने सडक भएकाले त्रिदेशीय सडक मार्ग पनि भन्ने गरिएको छ । भारतसँगको सिमाना विराटनगरको रानीदेखि धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङ्लिङ–ओलाङ्चुङगोला–टिपतालासम्म सडकको दूरी २९९ किलोमिटर रहेको बताइएको छ । कोरिडोर सडक अन्तर्गत रानीदेखि मूलघाटसम्म कालोपत्रे भइसकेको र मूलघाटदेखि सुभाङखोलासम्म कालोपत्रे निर्माणको क्रम जारी रहेको छ । बाँकी सडकमा पनि स्तरोन्नति र स्तरवृद्धिको काम निरन्तर अघि बढ्ने उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजनाले जनाएको छ ।