पाथीभरामा केबलकार बन्दै

Phaktanglung Darpan
पौष १३ गते २०८०
1:38 pm

फक्ताङलुङ दर्पण
ताप्लेजुङको पाथीभरामा केबलकार बन्ने कुराले चर्चा पाएको एक दश भन्दा बढी समय भएको छ । गत मंसिरको दोस्रो साता पाथीभरा क्षेत्र विकास समितिको आयोजनामा सर्वपक्ष अनुगमान गर्नु पाथीभरामा पुगेको थियो । उत्त अनुगमनले पाथीभरामा पाथीभरा केबलकार बन्नु पर्छ त्यसको लागि बातावण सृजना गर्नु सरोकारवालाहरु एक हुनु पर्ने निष्र्कस निकालेको थियो ।
गत शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पाथीभरा केबलकारमा लगानी कर्ता र जिल्लाको सरोकारवालहरुसंग एक अन्तरक्रिया कार्यक्रम भएको थियो । सो कार्यक्रममा पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरिने बताउनुभएको छ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याइने अध्यक्ष ढकालले बताउनुभएको हो ।
तत्काल निर्माणको काम सुरु गर्ने वातावरण बनाउनका लागि उहाँले सबै पक्षलाई ढकालले आग्रह पनि गर्नुभयो । पाथीभरा दर्शन केबलकार परियोजनाको काम सुरु गर्ने वातावरण बनेमा तत्काल काम थाल्ने र यसका लागि स्थानीय सरोकारवालाले साथ दिनुपर्ने उहाँले बताउनुभयो ।
आउँदो फागुनको तेस्रो साता अघि नै परियोजनाको सिलान्यास गरी काम थाल्ने पनि उहाँले बताउनुभयो । त्यसका लागि स्थानीय र सरोकारवालाहरुले वातावरण सृजना गर्न समेत उहाँले आग्रह गर्नुभयो । विगत देखि नै पाथीभरामा केबलकार निर्माण हुनुहुदैन भन्दै अवरोध गर्दै आएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले राखेको मागहरु केबलकार कम्पनीसँग केही सम्बन्धित विषयमा आवश्यक छलफल गर्न पनि कम्पनी तयार रहेको बताउनुभयो ।
पाथीभरा केबलकार कोशी प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ ताप्लेजुङवासीलाई ढकालले ताउँनुभयो । स्थानीयलाई रोजगारीसँगै यहाँको आर्थिक गतिविधि, पर्यटन विकास लगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने उहाँले दावी गर्नुभयो । यस्तै स्थानीयले उठाएको सामाजिक उत्तरदायित्व, परियोजनाको शेयर लगायतका सवालहरुमा राज्यको ऐन, नियम र व्यवस्थामा भएअनुसार पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । अन्तक्र्रियामा सहभागी राजनीतिक दलका प्रतिनिधिलगायत अधिकांसले केबलकार परियोजनाको काम तत्काल सुरु गर्नुपर्ने आ—आफ्नो धारण राख्नुभएको थियो ।
स्थानीयको मागलाई सम्भव भएसम्म सम्बोधन गरेरै भए पनि पाथीभरामा केबलकार निर्माण गर्नुपर्ने प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमले बताउनुभयो । राज्य आफैंले अर्थात तीनै तहको सरकारले लगानी गरेर केबलकार परियोजना निर्माण गर्न नसक्ने बताउनुहुँदै सांसद बोखिमले लगानी गर्न इच्छुक निजी कम्पनीलाई काम गर्ने वातावरणका लागि स्थानीय तयार हुनुपर्ने आफ्नो धारण व्यत्त गर्नु भयो । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले पनि स्थानीय र सङ्घर्ष समितिले राखेको मागमा समझदारी जुटाएर भए पनि काम गर्नुपर्ने बताउनुभयो । उहाँले आवश्यकताअनुसार निरन्तर छलफलमा बसेर सहमति जुटाई काम थाल्नमा ढिलो गर्न नहुने बताउनुभयो । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबलकार परियोजना निर्माण गर्नु जिल्लावासीको हितमा रहेको बताउनुभयो ।
व्यक्तिगत स्वार्थ र पुरातनवादी सोचमा रहनु नहुने नगर प्रमुख मादेनको तर्क थियो । यता केबलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले भने कुनै पनि हालतमा केबलकार निर्माण गर्न नहुने बताएको छ । समितिका संयोजक श्री लिङ्खिमले लिम्बू समुदायको आस्थाको केन्द्र र ऐतिहासिकतामाथि गम्भीर असर पुग्नेभन्दै परियोजना कार्यान्वयन गर्न नदिने बताउनुभयो । उहाँले मुक्कुमलुङमा केबलकार निर्माण गर्न निजी व्यावसायिक कम्पनीलाई दिएको अनुमति, स्वीकृति र सम्झौताहरु खारेज गर्नुपर्ने सङ्घर्ष समितिको माग रहेको बताउनुभयो । त्यस्तै रैथाने याक्थुङ (लिम्बू) तथा स्थानीय समुदायहरुको साँस्कृतिक मुन्धुमी आधारमा बनाइएका संरचनाको संरक्षण गर्दै मुक्कुमलुङको विकास, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने, स्थानीय रैथाने आदिवासी अधिकारवालाहरुको सहमति, नेतृत्व र संलग्नतामा मुक्कुमलुङ क्षेत्र विकास समिति गठन गर्नुपर्नेलगायत पाँचवटा आफ्ना मुख्य मागहरु रहेको उहाँले बताउनुभयो । मागहरु पूरा नभएसम्म केबलकार निर्माणमा अवरोध कायम रहने र सङ्घर्ष जारी राख्ने पनि उहाँले बताउनुभयो ।
कस्तो बन्दै छ पाथीभरामा केबलकार ?
कम्पनीका ईञ्जिनियर बिजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेशन रहने केवलकारको डिजाइन अनुसार त्यहाँबाट करिव २ हजार ७०० मिटर उचाईमा रहेको पाथीभरा क्षेत्र सम्म पुग्ने छ । मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्धारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केवलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताउनुभयो । मुख्य स्टेशनबाट १० मिनेट २० सेकेण्डमा केवलकारको अन्तिम स्टेशन पुग्न सकिने समेत पौडेलले जानकारी दिनुभयो । केवलकारका लागि १३ वटा टावर निर्माण हुने पौडेलले जानकारी दिनुभयो ।
४५ वटा डब्बा रहने र ४३ वटा डब्बामा तीर्थालु आवतजावत गर्न सकिने पौडेलले जानकारी दिनुभयो । एउटा डब्बामा अप्रेशन टिम र अर्को डब्बामा मालसामान ओपारपसार गर्ने गराउने कम्पनीको तयारी रहेको छ । तल्लो स्टेशनमा स्टेशन भवन,बोर्डिङ क्षेत्र,टिकट बुकिङ सेन्टर,शौचालय,पार्किङ र कार्यरत जनशक्ति आवास कक्ष हुने छ भने माथिल्लो स्टेशनमा स्टेशन भवन,शौचालय,स्वास्थ्य हेरचाह केन्द्र,चिया कफी स्टेशन र टिकट काउन्टर क्षेत्र हुने कम्पनीले जनाएको छ । केवलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले पर्यटन प्रवद्र्धन,रोजगारी सृजना,वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक प्रवद्र्धनका लागि केवलकार लाभदायक बन्ने बिश्वास लिनुभयो ।
स्थानीयलाई के फाइता
आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले कूल लागतको १० प्रतिशत शेयर बितरण गर्ने योजना रहेको बताएको छ । केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका–११ को काफ्लेपाटीमा ३० हजार रुपैयाँ रोपनी न्यूनतम मूल्य तोकिएको र त्यहाँको हालको बजारमूल्य ९० हजार रुपैयाँ पर्ने जग्गा ९० लाख रुपैयाँप्रति रोपनीका दरले खरीद गरेको आरोप कम्पनी माथि लाग्दै आएको छ । ढकालले यसबाट सर्वसाधारणको शेयरमा कुनै असर नपर्ने बताउनुभयो । जनता,सरकार र समुदायलाई प्रत्यक्ष लाभ हुने तवरबाट केवलकार निर्माणको सोच अघि सारिएको भन्दै उहाँले केवलकार निर्माणले प्राकृतिक,साँस्कृतिक र वातावरणीय समस्या निम्त्याउने आशंका नपाल्न समेत आग्रह गर्नु भएको छ ।
केबलकार कम्पनीका अध्यक्ष ढकालले भन्नुभयो“केबलकार निर्माण गर्दा त्यसमा आवश्यक पर्ने जनशक्ती स्थानीयलाई नै प्रथामिता दिदै आएको छौं । बरु हामी आफैले खर्च गरेर स्थानीयहरुलाई आवश्यत तालिम दिएर रोजगारीमा लगाएका छौं ।” केबलकार बने पछि ताप्लेजुङमा पर्यटकहरु संख्यामा बृद्धि हुनुका साथै स्थानीय उत्पादनको बजारीकरण हुने सरोकारवालाहरुको भनाइरहेको छ ।
फाइल तस्बिर
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला





