श्रावण १० गते २०८३
07:03: AM
श्रावण १० गते २०८३
07:03: AM

भक्तपुर : नजाने गाउँको बाटो

पौष २ गते २०८०
1:38 pm
Author Avatar
फक्ताङलुङ दर्पण

-भवानी बराल
प्रश्नको चपेटारोमा भक्तपुर ः
भक्तपुर नगरपालिकाबाट के सिक्ने ? भक्तपुरबाट किन सिक्ने ? भक्तपुर के हो र सिक्ने ? भक्तपुरको आगत र विगत के हो ? आजको दलाल, आसेपासे पुँजीवादी समाजमा समाजवादउन्मुख मोडेल सिकाइको के अर्थ ? भक्तपुरको मोडेल प्रतिलिपि उतार गर्दा अन्य स्थानीय तहको प्रगती र उन्नती सम्भव छ ? भक्तपुरको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, जनसांख्यिक तस्विर एवम् प्राकृतिक भू–बनोटको आधार र अन्य स्थानीय पालिकाको बनोट नै मिल्दैन । यी सबै प्रश्नको सहज उत्तर हुन्छ, भक्तपुरबाट सिक्दै निसिक्ने । नजाने गाउँको बाटो नसोध्ने ।
मुलुकका ७५३ स्थानीय तहमध्ये भक्तपुर नगरपालिकालाई यो लेखोटमा छान्नु पर्ने अर्थपूर्ण अर्थ छ । बाँकी ७५२ स्थानीय तह कसरी सञ्चालनमा आएका छन, पहिलो कार्यकाल ‘देखि, सुनी जान्नेको लागि’ भनिरहनु पर्ने विषय रहेन । दोस्रो वा चालु कार्यकालको समग्र मूल्याङ्कन गर्ने बेला भैसकेको छैन । यद्धपी दोस्रो कार्यकालमा केही स्वतन्त्रले नेतृत्व गरेकाबाहेकका पालिका सञ्चालनको ढंग उही छ, जो विगतकाले गरेका थिए । यसर्थ यहाँ भक्तपुर नगरपालिकाले देखाएको बाटो सानो आँखी झ्यालबाट चिहाउने प्रयास गरिनेछ ।
सञ्चार माध्यममा भक्तपुर ः
नेपाली सञ्चार माध्यममा भक्तपुरको अनुकरणीय समाचार पढ्न, सुन्न र देख्न पाइन्छ । छापा, विद्युतीय र नयाँ सञ्चार माध्यममा भक्तपुर नपाले गरेका कार्यक्रमको सह्राहना गरिएको एक से बढकर एक समाचार प्रकाशित÷प्रशारित छन् । भक्तपुरको नीति, योजना तथा कार्यक्रम, विकास र प्रगतीको मुक्तकण्ठले प्रशंसा गरिएको मात्रै भेटिन्छ । पहिलो कार्यकालको उच्च मूल्याङ्कन सबै मूख्य समाचार माध्यमले गरेका छन् । पालिकाले प्रकाशित गरेको पुस्तक ‘सञ्चार माध्यममा भक्तपुर नपा’मा अभिलेख गरिएको पत्रकारको कलम हेरे काफी हुन्छ । मूलधारका भनिएका छापा, नयाँ मिडियामा शिक्षा, स्वास्थ्य र कला–संस्कृतिको मोडेल भक्तपुरलाई सम्मान गरिएको छ । सरसफाई, स्वास्थ्य, शिक्षा, सम्पदा संरक्षण र पुननिर्माणमा भक्तपुर नपाले मोडल प्रस्तुत गरेको आँखो देखा हाल पढ्न पाइन्छ । नगर पालिकाले प्रकाशित गरेको ‘भक्तपुर नगरपालिकाको ५ वर्ष’ पुस्तकले त सचित्र बर्णन नै गरेको छ । यस्तो लाग्छ यी पुस्तक हेरेपछि भक्तपुरको दृश्य आँखाको पर्दामै आइपुग्छ ।
भक्तपुर नगरको नेतृत्व गर्दै आएको नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले स्थानीय तह निर्वाचन–२०७४मा ‘भक्तपुर नपाको लागि घोषणा पत्र’ प्रकाशित गरेको रहेछ । १० वटा संक्षेप बुँदामा व्यवस्थित घोषणा पत्रको मूल नीति, योजना तथा कार्यक्रम भक्तपुरको तत्कालिक एवम् भावी योजना हो । शिक्षा, स्वास्थ्य, उद्योग र रोजगारी, कला–संस्कृति र पर्यटन, वातावरण, यातायात, खेलकुद, नगर प्रशासन, भूकम्प र विपद व्यवस्थापन, कृषि तथा जनजीविका नगरको विषयगत योजना हो । यसै प्रसंगमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे (रोहित)ले ‘सय वर्षपछिको भक्तपुर (०५९)’ पुस्तक नै प्रकाशित गरे । भक्तपुरको योजनाबद्ध विकासको खाका यहि पुस्तकमार्फत खिचिएको नगरका वर्तमान नगर प्रमुख सुनिल प्रजापतिसहीत अन्य जनप्रतिनिधिको विश्वास छ ।
संविधान अनुसार यसअघि निर्वाचित पहिलो नगर सरकारले पहिलो पटक योजनाबद्ध विकास गर्ने स्वायत्तता पायो । हुनतः यस्तो अधिकार र अवसर बाँकी पालिकाले पनि पाएकै छन । तर, अन्य पालिकाले यस्तो अधिकार र अवसर उपयोग गर्न चुके, कतिपय मामिलामा अख्तियारको दूरुपयोग गरे । आर्थिक अनियमितता, भ्रष्टाचार, अनाधिकृत प्राकृतिक दोहन मामिलामा कठघरामा पुगे । र, आज गाउँको सिंह दरबार संघीय सिंह दरबार जत्तिकै बदनाम भएको छ । यस्तो क्रियाकलापमा डुबेका पालिकाका प्रतिनिधिका लागि भक्तपुर पाइला सार्नै नहुने गाउँको बाटो हो ।
स्वास्थ्य नै धन ः
स्वास्थ्य नै धन हो । संसारका सबै भाषा र विचारमा यो श्वासत या ‘ब्रम्ह’ वाक्य नै हो । स्वस्थ्य रहन सरसफाइ पहिलो सर्त हो । काठमाण्डु उपत्यकामा फोहोर व्यवस्थापन खपिनसक्नु मुद्धा हो । तर भक्तपुरले फोहोरलाई रुपान्तर गरेर मोहोर आर्जन गर्दै आएको छ । फोहोरबाट कम्पोष्ट मल उत्पादन गरेर किसानलाई सुलभ दरमा वितरण गरिरहेको छ । फोहोरबाट वायो उर्जा उत्पादन गर्ने लक्षको नजिक छ ।
तर, जनताको स्वास्थ्य जनसरोकारको विषय कम राष्ट्रिय व्यापार धन्दाको विषय बढी बन्दै गएको छ । नेपालका प्रतेक साना ठूला शहरका प्रायः गल्लीमा नीजि अस्पतालको सटर खुलेका छन । जुन देशमा उद्योगधन्दा भन्दा बढी अस्पताल हुन्छन त्यो देश निरोगी र सम्पन्न हुने त कुरै भएन । यस्तो परिस्थितिमा जनता झनझन गरीवीको रेखा मुनी जाने पक्कै हो । राज्यको दायित्व भित्र स्वास्थ्य प्राथमिकतामा नपरेको विषम परिस्थिति खप्नुको विकल्प छैन । त्यो भन्दा बढी जनताका आधारभूत विषय शिक्षा र स्वास्थ्य माफियाहरुको कब्जामा पुगेको छ । समाजवाद उन्मुख संविधानको हुर्मत यहिँबाट गएको हो ।
तर, राज्यको सानो दायित्व पुरा गर्न भक्तपुर नपाले आफ्नै बलबुतामा भगिरथ प्रयास गरिरहेको छ । विशेषज्ञ सेवासहीत एक सय बेडको ख्वप अस्पताल, घरदैलो स्वास्थ्य सेवा, आँखा उपचार केन्द्र, शिशु स्याहार केन्द्र, आयुर्बेद स्वास्थ्य उपचार केन्द्रलगायतका सेवा नगरवासीमा उपलब्ध गराउँदै आएको छ । कोभिड महामारीमा कोभिड अस्पतालको व्यवस्थापन, अक्सिजन प्लाण्टको स्थापना र अक्सिजन निशुल्क वितरण गरेर जनताप्रतिको स्थानीय सरकारको दायित्व पुरा गर्ने प्रशंसनीय काम गरेको जगजाहेर छ । यस्तो दायित्व पुरा गर्दा नपा आँखाको तारो अवश्य हुन्छ । यसैले मेडिकल कलेज स्थापना गर्ने भक्तपुर नपाको चाहना साकार हुन सकेको छैन । दलाल पुँजीवादको पराकाष्ठा कथित आर्थिक उदारीकरणको माखे साङ्लोमा परेको राज्य र त्यसका अधिकांस पालिकाका प्रतिनिधिहरुले उम्कने या विद्रोह गर्ने प्रयास नगर्नु लाचारी हो । अतः यस्ता लाचार छायाँले भक्तपुर जाने बाटो किन खोज्ने ?
सामाजिक बुद्धिजीवीकरणमा शिक्षा ः
शिक्षा मानवमूल्यको तेश्रो आँखा हो । महान दार्शनिक सुकरातले ‘प्रतेक मानिसको मष्तिष्कमा अदृश्यरुपले विद्यमान संसारको त्यो सर्वमान्य विचारमा ल्याउनु शिक्षा हो’ भनेका छन् । नेल्सन मण्डेलाले शिक्षालाई संसार बदल्ने हतियारको रुपमा अथ्र्याएका छन् । भक्तपुर नपाले शिक्षालाई यसै अनुरुप २० वर्षदेखि निरन्तर महत्व दिएको छ । सबैभन्दा महत्वपूर्ण त ‘सामाजिक बुद्धिजीवीकरण’ गर्ने शब्द ‘क्वाइन’ गरेको छ । यो शब्दको अन्तर्य आफैमा गम्भीर र विराट छ ।
देशका बाँकी कुनै पालिकाले शिक्षालाई भक्तपुरले झैं बुझ्नेसम्म कष्ट गरेको छैन । यो नपाले ७ वटा शैक्षिक संस्थामार्फत सुलभ र गुणस्तरीय शिक्षाको बन्दोवस्त गरेको छ । यसमध्ये दुइवटा ख्वपः इन्जिनियरिङ कलेजमार्फत उच्च प्राविधिक जनशक्ति दीक्षीत बनाइ रहेको छ । यसरी नै बहु–प्राविधिक शिक्षालय, नर्सिङ कलेज र मानविकी तथा सामाजिकी शास्त्रका अनेक विषयगत शिक्षण, विदेशी भाषा तालिम, स्थानीय शैक्षिक पाठ्यक्रमलाई पनि महत्वकासाथ पठनपाठनको संस्थागत विकास गरेको छ । शिक्षण संस्थाको विकास र अध्ययन अध्यापनमा मात्रै नपाले वर्षेनी ४० करोड खर्च गर्दै आएको उल्लेख छ । यसका अतिरिक्त गरीब तथा जेहेन्दार विद्यार्थीलाई डेढ करोड रुपैया वर्षेनी छात्रवृत्ति र उच्च शिक्षा अध्ययनमा सहुलियत क्रृण पनि दिँदै आएको छ । सिमित आन्तरिक स्रोतका बाबजुद भक्तपुर नगरपालिकाले यति खर्च गर्न सक्दो रहेछ । तर, देशका गाउँ पालिकालाई छोडेर बाँकी महानगर, उप–महानगर, र नगरपालिकालाहरुले शैक्षिक क्रियाकलापमा किन खर्च गर्न सकिरहेका छैनन् ? बरु तिनले कृषि प्रधान देशको कृषि विश्वविद्यालयलाई दिएको जमिन क्रिकेट मैदान बनाउने घोषणा गर्न पुगे । खेल मैदान बनाउन पनि जोकरको हातमा दिएकोले अहिले खण्डहरमा परिणत भएको छ ।
तर, बिडम्बना भक्तपुर नपाको पहिलो कार्यकाल (०७४) मै प्रस्ताब गरेको सामाजिक बुद्धिजीवीकरण गर्ने प्रस्तावलाई तुहाउन संघीय सरकारले कुनै कसर बाँकी राखेको छैन । सामाजिक बुद्धिजीवीकरणको लागि प्रस्तावित ख्वप विश्वविद्यालयको प्रस्तावलाई त्यस यता बनेका कुनैपनि सरकारले स्वीकृती दिने आँट गरेको छैन । यस्तो लाग्छ नेपालमा जो सुकैको सरकार बनोस, जो सुकै शिक्षा मन्त्री बनुन उनीहरु शैक्षिक माफियाका तालुकदार मात्र हुन । त्यस्ता तालुकदारले मालिकको अहित हुने काम गर्दैनन भन्ने तथ्यले तीनलाई नाङ्गेझार बनाएको छ । सामाजिक बुद्धिजीवीकरण गर्ने भक्तपुरको बाटो यसकारण तीनले सोच्नसम्म सक्तैनन् ।
योजनाबद्ध जनसहभागिता ः
यतिखेर कतिपय स्थानीय सरकारको नेतृत्वले लोकरिझ्याँई र स्टण्टबाजीका लागि जनश्रमदानको ‘टेलर’ देखाएका छन् । कुनै योजनाविहीन दीर्घकालीन एवम् स्थायी परिणामको ख्यालै नगरी श्रम संस्कृतिको हौवा प्रदर्शित गरेका छन् । तर, भक्तपुरले भूकम्पले क्षतविक्षत साँस्कृतिक सम्पदाको जिर्णोद्वार, पुननिर्माणमा योजनाबद्ध जनसहभागिता र जनश्रमदान जुटाएर सम्पन्न गरेको छ । यसरी विविध क्षेत्रका १२४ वटा योजनाले सम्पन्नताको प्रमाण पत्र पाएका छन् । जनसहभागितामै दुई वटा आवास क्षेत्रको निर्माण सम्पन्न हुने क्रममा छ । उपभोक्ता समितिमार्फत निर्माणको उच्चतम नमुना नपाले सफल अभ्यास गर्दै आएको छ । योजना बेगर लोकरिझ्याँईको नाटक प्रदर्शन गर्नेको लागि भक्तपुरको बाटो सोझिदैन ।
गैसस निषेधित नगर ः
नेपालका दूर दराजका गाउँमा पनि गैरसरकारी संस्था (गैसस वा एनजिओ) नपुगेको ठाउँ छैन । तर, राजधानी नजिकको भक्तपुर जाने बाटोमा तीनलाइ तगारो हालिएको छ । कथित विकास र चेतनाको ख्यालीपुलाउ पकाएर आफ्नै रोजीरोटी सेक्ने कथित सामाजिक संस्था भक्तपुर प्रवेशमा निषेधित छ । नेपालको विकासमा गैससको काम छैन भन्ने यो गतिलो उदाहरण हो । सम्पदा निर्माणमा जर्मन सरकारको १ अर्ब २० करोड अनुदान सम्पदाको विद्रुपीकरण गर्ने प्रस्तावका कारण नपाले अस्वीकृत ग¥यो । पछि सम्पदा भक्तपुरवासीले आफ्नै बलबुदामा निर्माण गरि छाडे । यस्तो आँट देखाउने नपाले चारो छर्ने र स्वाभिमान गिराउने गैससलाई अनुमति नदिनु अनौठो भएन । गैससको लागि त भक्तपुरको बाटो सोध्नै नहुने बाटो भो ।
बत्तिमुनी अँध्यारो ः
परम्परागत भनाइ अनुसार बत्तिमुनी अँध्यारो हुन्छ । यो भनाई विद्युत उत्पादन हुनुभन्दा अघिको भनाइ हो । परम्परागत अवस्थामा बत्ति मुनी प्रकाश दिन सक्तैनथ्यो । विद्युतले सबै तिर प्रकाश दिन्छ । तर, यहाँ पुरानै भनाइ लागु भएको छ । भक्तपुरका छिमेकी पालिकाले भक्तपुरबाट सिक्ने प्रयत्न बिल्कुलै गरेको छैन । भक्तपुरको प्रकाशको कुनै प्रभाव त्यहाँ छैन । छिमेकी पालिकाले नै भक्तपुरको बाटो हिँड्नु छैन भने टाढाका परदेशी पालिकाले भक्तपुरको बाटो मोडिनुको के अर्थ हुन्छ र ?
संवैधानिक व्यवस्था ः
नयाँ संविधानले राज्यको संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहको व्यवस्था गरेको छ । संविधानको अनुसूची ८ अनुसार स्थानीय तहको एकल अधिकारको सूची २२ बुँदामा व्यवस्थित छ । यसरी नै अनुसूची ९ मा तीनै तहको साझा अधिकारको सूची छ । स्थानीय सरकार सञ्चलानार्थ ‘स्थानीय सरकार सञ्चालन ऐन –२०७४’ सहीत एक दर्जन विषयगत दिग्दर्शन तथा नियमावली पनि व्यवस्था गरिएको छ ।
अनुसूची ८ अनुसार स्थानीय तहको २२ बुँदे एकल अधिकारको भरपुर उपयोग गर्न भक्तपुर नपाले २२ वटै ऐन परिमार्जनसहीत पारित गरेको छ । दर्जनौ नियमावली, निर्देशिका, कार्यविधिहरु व्यवस्थित गरेको छ । सम्भवतः अनुसूची अनुसार अन्य पालिकाले ढंग नपु¥याएको परिणामले देखाउँछ । संवैधानिक दायरा भित्र रहेर अधिकारको अधिकतम उपयोग गर्दा भक्तपुर जस्तो सफा, सुन्दर, स्वस्थ्य, शैक्षिक क्षेत्र उन्मुख नगर बन्छ भन्ने यो प्रतिनिधि उदाहरण हो । यस्तो सुन्दर उदाहरण अनुकरण गर्नु बाँकी पालिकाका प्रतिनिधिलाई यो जुनीमा असम्भव भए झैं लाग्ला । यसर्थ भक्तपुरको असहज बाटो किन लम्किने ?
सूचना सञ्चारमा भक्तपुर ः
नपाको सूचना प्राप्त गर्ने सबै माध्यममा सबैको पहुँच पुग्छ । सञ्चारका छापा, रेडियो, टिभी, अनलाइन र सामाजिक सञ्जाललाई नपाले उपयोगमा ल्याएको छ । भक्तपुर मासिक पत्रिका, ख्वप पौ पाक्षिक पत्रिका, ख्वप सः (रेडियो कार्यक्रम), ख्वप टिभी, भक्तपुर डटकम (अनलाइन) तथा भक्तपुर म्यूनिसिपिलिटी फेसबुक पेज छन । एक दर्जन पुस्तक प्रकाशित छन । यी माध्यममार्फत नपाको सूचना समाचार आमसाधारणको सहज पहुँचमा छ । यस प्रकारको व्यवस्थित सञ्चार प्रणाली अन्य पालिकाको देखिन्न । पारदर्शिता र जवाफदेहिताको यो नमुना हो । यहि जवाफदेहिताबाट भाग्न अन्य पालिकाले यो सब गरेका छैनन् । यसैले भक्तपुरको बाटो फुटेको आँखाले पनि हेर्दैनन् ।
पालिका सानो कुरा ठूलो ः
भक्तपुर नगरपालिकाको कुल क्षेत्रफल ६.८८९ वर्ग किमी मात्र छ । भक्तपुरका छिमेकी नपाहरु सूर्य विनायक, मध्यपुर थिमी, चाँगु नारायण भन्दा पनि क्षेत्रफलको हिसाबले असाध्यै सानो छ । पूर्व–पश्चिम ४.५ किमी र उत्तर–दक्षीण १.५ किमीमा फैलिएको भक्तपुर क्षेत्रफलको हिसाबले देशकै सबैभन्दा सानो पालिका पनि हो । जनसांख्यिक हिसाब पनि करिब १ लाख मात्र छ । तर भक्तपुरको महत्वाकांक्षा बेजोड ठूलो छ । घोषणा पत्र अनुसार शिक्षा, स्वास्थ्य, उद्योग, रोजगारी, कला–संस्कृति, पर्यटन, वातावरण, यातायात, खेलकुद, नगर प्रशासन, कृषि तथा जनजीविका मामिलामा सफलता प्राप्त ग¥यो भने वर्तमानको भक्तपुर भविष्यको ‘भेटिकन भक्तपुर’ बन्ने कल्पना गर्न सकिन्छ । चीनीया आकाश मुनीको सम्पन्न गाउँ ‘ह्वासी भिलेज’ जस्तै विकसित हुनसक्छ । भक्तपुरको पुरातात्विक साँस्कृतिक धरोहर त छँदैछ । जल सम्पदाले त्यत्तिकै सुन्दर बनाएको छ । तर, भ्रष्ट, अनियमितताका अनुयायी, लाचार, सिद्धान्तच्युत दल र तीनका प्रतिनिधिलाई भविष्यको ‘भेटिकन भक्तपुर’ को बाटो नजाने गाउँ नै हो ।
जेठो पालिका श्रेष्ठ सोच ः
भक्तपुर १२ औं देखि १५ औं शताब्दीसम्म नेपाल (उपत्यका)को राजधानी थियो । किरातकालीन समय मै स्थापित यो शभ्यताको नगर हो । १८ औं शताब्दीसम्म स्वतन्त्र राज्यको रुपमा स्थापित ‘भादगाउँ’ (भक्तपुर) को लिच्छवी र मल्लकालमा सांस्कृतिक वैभवको विकास भयो । राजा मानदेवको अभिलेख अनुसार नेपाल भाषाको खोपाङ, खृपाङ, खोपा हुँदै ख्वप यसको प्राग ऐतिहासिक नाम हो । विसं १९९२ (८८ वर्ष अघि)मा ‘भद्रगाउँ’ हुँदै ‘भादगाउँ’ हुन पुग्यो । यहाँका मानिस भगवानको खुब आराधना गर्ने भएकोले जुद्ध शमसेरले ‘भक्तहरुको शहर’ यो नगरको नाम भक्तपुर राखे भन्ने भनाइ पनि छ । उतिखेरका ‘भगवान’का भक्त नगरवासीहरु यतिखेर जनपक्षीय राजनीतिको ‘भक्त’ भएका छन् । यसैले वर्षौंदेखि भक्तपुरको सेवामा तल्लिन नेमकिपाको जनपक्षीय राजनैतिक नेतृत्वलाइ विश्वास दिँदै आएका छन ।
विसं २००६ मै भक्तपुर म्युनिसिपिलिटीको नाममा गठीत जेठो भक्तपुर नपाको ‘श्रेष्ठ’ कुरा अद्यावधि छ । कमरेड रोहितद्वारा अक्षरमा चित्राङ्कित ‘सय वर्षपछिको भक्तपुर’को सम्पन्न नक्सा कस्तो होला ? भक्तपुरको वर्तमान नीति, योजना तथा कार्यक्रम र जनपक्षीय नेतृत्वको निरन्तरतामा भर भर्छ । कम्युनिष्ट सिद्धान्त, विचार र तदनुकुलको आचरणको व्यवहारिक कार्यान्वयनमा भर पर्छ ।
भक्तपुरले साँस्कृतिक वैभव त पाएकै छ । यसैले उपत्यकाको साँस्कृतिक, पर्यटनको मूख्य गन्तव्य हुँदै आएको हो । यताका दिनमा साँस्कृतिक पर्यटनको गन्तब्य मात्र हैन ‘राजनैतिक पर्यटन’ गर्ने मूख्य गन्तव्य पनि भक्तपुर बन्नेछ । तर, सिद्धान्तच्युत पार्टी, तीनका नेता र भ्रष्ट प्रतिनिधिका लागि भक्तपुर नजाने गाउँको बाटो हो । नजाने गाउँको बाटो कस्ले सोधि रहन्छ ?

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo