श्रावण १० गते २०८३
06:58: AM
श्रावण १० गते २०८३
06:58: AM

पुसे मेला स्वर्ण महोत्सव आज देखि सुरु

पौष १ गते २०८०
6:58 am
Author Avatar
फक्ताङलुङ दर्पण


फुङ्लिङ/FD
ताप्लेजुङमा आज देखि पुसो मेला स्वर्ण महोत्सव २०८० सुरुभएको छ । जिल्लाकै दोस्रो ठुलो बजार मेरिङदेन र आठराईत्रिवेणी गाउँपालिको संगम स्थल दोभान बजारमा मेला सुरुभएको हो ।
मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित दोभान स्पोर्टिङ क्लब तथा पुषे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिको संयुक्त पहलमा आयोजना गरिएको हो ।
आगामी पुस ५ गतेसम्म जारी रहने मेलाको उद्घाटन आज कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा गरिने समितिका अध्यक्ष हेम सिरिङ चोङबाङले बताउनुभयो । उहाँका अनुसार ५० वर्ष देखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुषे मेलामा यस वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुदैछ ।
भलिबलमा चर्चित मानिएका नाम्चे भलिबल क्लब नाम्चे बजार साउथ सिक्कीम, भारत, नगर खेलकुद विकास समिति, गलकोट बाग्लुङ, भोजपुर भलिबल क्लब भोजपुर, पाथीभरा टाइगर भलिबल क्लब दमक झापा, सङ्खुवासभा भलिबल क्लब सङ्खुवासभा, सुनसरी जिल्ला भलिबल टिम र उदयपुर स्पोर्ट्स क्लब आमन्त्रित क्लबको रुपमा सहभागी हुने भएका छन् । गृह जिल्लाको तर्फबाट मुकेश मेमोरियल क्लब र हिमाली तोक्पेगोला भलिबल क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रत्येक टिमले २ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडी समेत सहभागी गराउन पाउने नियमानुसार यो प्रतियोगितामा सहभागी टिमले सो स्तरको खेल खेलेका खेलाडी समेत सहभागी गराउने सूचना प्राप्त भएको आयोजकले बताएको छ । आयोजकका अनुसार खेल तालिका भोलि बिहान सार्वजनिक गर्ने तयारी भएको छ । यातायात बन्दको प्रभावका कारण खेलाडी आइनपुगेकाले खेल तालिका सार्वजनिकमा ढिलाइ भएको हो । समितिका सचिव गणेश कार्की ढोलीका अनुसार आज ३ खेल खेलाइने तयारी भइरहेको छ
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेता टिम एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुने भएको छ । सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिनुभयो ।
भलिबल प्रतियोगितातर्फ सर्वोत्कृष्ट हुने खेलाडी नगद १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुँदा उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सटर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद पाँच हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचले नगद दुई हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् । भलिबल खेल संगै त्यहाँ ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको मेला आयोजक कमिटीले जनाएको छ ।
ब्याडमिन्टन प्रतियोगिताको पुरस्कारका लागि एक लाख रुपैयाँ बिनियोजन भएको र जिल्ला ब्याडमिन्टन संघ सँगको प्राविधिक सहयोगमा विधागत पुरस्कार घोषणा गरिने समेत मेला आयोजक कमिटीले जानकारी दिएको छ । भलिबल प्रतियोगिताको प्राविधिक सहयोग जिल्ला भलिबल संघले गर्ने जिल्ला भलिबल संघका अध्यक्ष बिमल भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय क्षेत्रमा रहेका फुङफुङगे झरना, गुराँसे पोखरी, तोक्पेगोला, लोदेन क्षेत्र सहितका पर्यटकीय स्थलहरूको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन तथा तमोर नदीमा ¥याफ्टिङ समेत गर्न पाइने भएकोले मेलाले सघाउ पु¥याउने आयोजकको विश्वास रहेको छ । धान नाच, पालम र हाक्पारे सहितका मौलिक महत्वका बोकेका सांस्कृतिक सम्पदाका प्रवर्द्धनमा समेत सघाउ पुग्ने हिसाबले मेलाको आयोजना गरिएको आयोजक कमिटीले जनाएको छ ।
आयोजक कमिटीका कोषाध्यक्ष चोङवाङका अनुसार मेला अवधिका लागि कूल ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजक कमिटीले उद्घाटनको दिन(आज) बाहेक भलिबल खेलका लागि सेमिफाइनल अघिका सबै खेलमा ५० रुपैयाँ र सेमिफाइनल र फाइनल खेलका लागि १०० सय रुपैयाँ टिकटदर निर्धारण गरिएको छ ।
मेला अवधिभरमा राष्ट्रिय गायक तथा नृत्यकार समेतको सहभागितामा वृहत् सांस्कृतिक कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo