श्रावण १० गते २०८३
07:53: AM
श्रावण १० गते २०८३
07:53: AM

वालुङ समुदायले मनाउँदै फुटुक पर्व

कार्तिक २६ गते २०८०
1:54 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फुङ्लिङ, ताप्लेजुङको फक्तालुङ गाउँपालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा वालुङ समुदायले मात्र मनाइँदै आएको फुटुक पर्व यो वर्षसमेत धुमधामका साथ मनाउन थालेका छन् । कृष्ण पक्षको द्वितीयादेखि शुरु हुने पर्व औँसीका दिन(भोली) सम्म मनाउने गरेको हो ।
परापूर्वकालदेखि ताप्लेजुङको आलाङचुङगोलामा मात्र वालुङ समुदायले मनाइँदै आएको पर्व हो । पर्वमा अवलोकन गर्न विदेशी पाहुना समेत आउनुभएको फुटुक पर्व कार्यक्रम संयोजक टाँसी शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार फुटुक पर्वको अवलोकन गर्नका लागि बेलजियमबाट पाँच जना नागरिकहरु ओलाङचुङ गोला आइपुग्नुभएको हो । शेर्पाले भन्नुभयो“अगाडी एक जना विदेशी पर्यटक फुटुकको समयमा आउनुभएको थियो । उहाँले फुटुक पर्व अवलोकन गरेर गएको थियो । उहाँले यस वर्ष अरु साथीहरु पनि लिएर आउनुभएको छ ।”
पर्वमा नजीकैका बस्ती याङ्मा, घुन्सालगायत स्थानमा मानिसहरू जम्मा हुने गरेका छन् । एक दिन हिँडेर लुङथुङ, लेलेप, सेकाथुम साथै अन्य गाउँबाट पर्व मनाउन ओलाङचुङगोला पुगेको शेर्पाले बताउनुभयो । अहिले फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू,उपाध्यक्ष विकास साम्रा,मेरिङदेन गाउँपालिका अध्यक्ष युकविर हाङ लिम्बूको टोली समेत फुटुक पर्व मनाउँन ओलाङचुगोला पुग्नुभएको छन् । त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याङहाङ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खेल प्रसाद बुढाक्षेत्री(पराग) र मिङमा डण्डु शेर्पाको टोली समेत फुटुक पर्वको अवालोकन गर्न पुग्नुभएका छन् ।
पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरेका छन् । पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ । साथै आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुनेछ । यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने वालुङ जातिहरुको विश्वास रहेको छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन् ।
यस्तै, लामाले देवता र राक्षसको मुखुन्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गरेका छन् । लामाको नृत्य हेर्न साथै भगवानको आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बा नजीकै पाल टाँगेर बस्छन् । गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष रोकिएको छैन ।
फुटुकमा नयाँ कपडा फेर्ने, मीठोमसिनो बनाएर खाने प्रचलन छ । अघिल्ला वर्षमा फुटुक पर्वका समयमा सीमावर्ती चीनको तिब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस आउने गरेको तर कोरोनाका कारण टिप्ताला नाका खुल्ला नभएकाले यो वर्ष चीनबाट पर्वको अवलोकन गर्नु आउनुभएको छैन । ओलाङ्चुङगोलामा ४०० वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक दिकिछ्योलिङ गुम्बा रहेको छ । निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनी विशेषरूपमा मनाइँदै आएको हो ।
चीन र नेपालको सिमानाका नजीकै रहेको ओलाङचुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ । ऐतिहासिक महत्व भएको तथा नेपालकै ओलाङ्चुङगोलामा मात्र यो वर्ष मनाउने भएकाले फुटुक पर्वलाई संरक्षण र प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटन विकास र प्रवद्र्धन गर्नका लागि फक्ताङलिङ गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । यस गाउँमा ५५ घरधुरी रहेका छन् भने नजीकैको बस्ती याङ्मामा १० घरपरिवार छन् । यो गाउँ सदरमुकामबाट सवारी साधनमा र हिँडेर गरी एक दिनको समयमा पुगिन्छ ।

तस्बिरः तेन्जिङ वालुङ

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo