दिलकुमार लिम्बू / ताप्लेजुङ ।
ताप्लेजुङका अलैँची किसानहरू यतिबेला घरमा भेटिन मुस्किल छ। उनीहरू दसैँ र तिहारजस्ता ठूला चाडपर्वको समयमा समेत अलैँची टिप्ने, सुकाउने र भण्डारण गर्ने काममा व्यस्त छन्। वर्षभरि गरेको मेहनतलाई आम्दानीमा बदल्ने मुख्य सिजन भएकाले किसानलाई चाडपर्वभन्दा अलैँची बगानको कामले बढी व्यस्त बनाएको छ।
फक्ताङलुङ गाउँपालिका–६ फेम्बु गाउँका किसान विष्णुकुमार लिम्बूले यस वर्ष परिवारसँग बसेर एक दिन मात्र दसैँ मनाउनुभयो। उहाँले अष्टमी अर्थात् कात्तिक १ गते घरमै बसेर दसैँ मनाउनुभएको थियो। त्यसको भोलिपल्ट कात्तिक २ गते बिहानै रासनपानी तथा ओढ्ने–ओछ्याउने सामग्री बोकेर अलैँची बगानतर्फ लाग्नुभयो। त्यसयता उहाँ घर फर्कनुभएको छैन। अलैँची बगानमै बसेर काम गरिरहनुभएका लिम्बूले दसैँसमेत बगानमै बिताउनुभयो। तिहार पनि अलैँची बगानमै मनाउने योजना रहेको उहाँले बताउनुभयो।
गाउँका कोही किसान आफ्नै अलैँची बगानमा व्यस्त छन् भने केही किसान अरूका बगानमा ज्यालादारी काम गरिरहेका छन्। अलैँची टिप्ने मुख्य सिजनमा बगानमै काम गरेर किसान तथा मजदुरले आम्दानी गर्दै आएका छन्। अलैँची टिप्ने मजदुरले खाजासहित दैनिक ५०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म ज्याला पाउने गरेका छन्। भदौको दोस्रो सातादेखि मंसिर महिनासम्म अलैँची टिप्ने काम चल्ने गर्दछ।
चाडपर्वका बेला परिवारसँग बसेर रमाइलो गर्नुपर्ने समयमा पनि किसानहरू अलैँची टिप्ने र सुकाउने काममा जुट्न बाध्य छन्। अलैँची खेती यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भएकाले यस मौसममा कामको चटारो हुने गरेको किसान कालीबहादुर फेम्बूले बताउनुभयो।
पहाडी क्षेत्रमा खेती गरिने अलैँचीलाई ‘कालो सुन’को उपनामले चिनिन्छ। तर, सुनको जस्तै अलैँचीको बजार मूल्य भने स्थिर रहने गरेको छैन। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भदौको पहिलो साता प्रतिमन (४० किलोग्राम) ९६ हजार रुपैयाँमा अलैँची कारोबार भएको थियो। भदौको तेस्रो साता घटेर प्रतिमन ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो कारोबारअनुसार प्रतिमन ९१ हजार रुपैयाँमा अलैँची किनबेच भइरहेको छ। विगतका वर्षहरूको तुलनामा यस वर्ष अलैँचीको बजार मूल्य राम्रो हुँदै गएकाले किसान खुसी भएको किसान बेलीता लिम्बूले बताउनुभयो।
जिल्लाका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत अलैँची नै हो। अलैँची बिक्रीबाट प्राप्त आम्दानीले कसैले घरजग्गा खरिद गरेका छन् भने कसैले छोराछोरीको पढाइमा खर्च गर्दै आएका छन्। अलैँची खेतीबाट धेरै किसानको आर्थिक अवस्था सुधार हुँदै गएको छ। फक्ताङलुङ गाउँपालिका–६ डाँडा टोलका किसान विर्ख फेम्बूले पनि अलैँचीबाट प्राप्त आम्दानीकै भरमा छोराहरूलाई पढाउँदै आउनुभएको बताउनुभयो।
ताप्लेजुङमा करिब चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। ताप्लेजुङ कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा प्रत्येक वर्ष करिब दुई हजार ५०० मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको छ। जिल्लाका ६० भन्दा बढी वडामा अलैँची खेती गरिँदै आएको छ।
तर, पछिल्लो समय अलैँचीमा विभिन्न प्रकारका रोग देखिन थालेसँगै उत्पादनमा समेत गिरावट आउन थालेको किसानहरूको भनाइ छ। अलैँची खेतीका लागि पर्याप्त सिँचाइ आवश्यक पर्ने भए पनि पछिल्लो समय पानीका मुहानहरू सुक्दै जान थालेपछि खेती गर्न समस्या हुन थालेको किसान इन्द्र लिम्बूले बताउनुभयो।
चाडपर्वको रौनकसँगै परिवार र आफन्तसँग बसेर रमाउने चाहना सबैलाई हुन्छ। तर, ताप्लेजुङका अलैँची किसानका लागि भने यो समय वर्षभरि गरेको मेहनतलाई आम्दानीमा परिणत गर्ने महत्त्वपूर्ण अवसर हो। त्यसैले दसैँ बितिसक्दा र तिहार नजिकिँदै गर्दा पनि उनीहरूको दैनिकी अलैँची बगानमै बितिरहेको छ। परिवारबाट टाढा रहेर भए पनि उत्पादन र आम्दानीको आशामा किसानहरू बगानमै पसिना बगाइरहेका छन्।