कार्तिक २४ गते २०८३
01:55: PM
कार्तिक २४ गते २०८३
01:55: PM

बेलायतमा याक्थुङ संस्कृतिको उत्सव, आस्फोर्डमा मनाइयो वलिहाङ तङनाम

कार्तिक २४ गते २०८३
12:50 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ज्ञानु फुरुम्बो ‘चरपे’/युके ।

बेलायतको आस्फोर्डमा किरात याक्थुङ चुम्लुङ शाखा आस्फोर्डको आयोजनामा वलिहाङ तङनाम भव्यताका साथ सम्पन्न भएको छ। गत ७ नोभेम्बर २०२६, शनिबारका दिन साइमन चर्चको सभाहलमा आयोजित उक्त कार्यक्रम विगतका वर्षहरूमा झैँ यस वर्ष पनि उल्लासपूर्ण वातावरणमा मनाइएको हो।

सुन्दर लिङथेपको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्डका अध्यक्ष मोहन सोदेम्बा लिम्बू विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय सचिव शकुन्तला यक्पाङदेन नेम्बाङ, केन्द्रीय सल्लाहकारहरू सिरी प्रसाद साम्यु, पदम आङबुहाङ र राजेन्द्र खिम्दिङ, केन्द्रीय सदस्य टंक येङदेन, किरात याक्थुङ चुम्लुङ थामोन्दिङ माः यूकेकी अध्यक्ष मनमाया नेम्बाङ, याक्थुङ वेन्सा चुम्भोका महासचिव सुरेन्द्र थेबे, किरात याक्थुङ चुम्लुङ यूकेका पूर्वअध्यक्ष डम्बर सिंगक, पूर्वसल्लाहकार तथा संरक्षक सदस्यहरू नरकुमारी वनेम र सन्तोष वनेमलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अतिथिहरूको उपस्थिति रहेको थियो। साथै, किरात राई यायोक्खा प्रारम्भिक समिति यूके र सेवारो कलाकार संघ यूकेका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि कमला सेन्दाङ लिम्बूले पानसमा दीप प्रज्वलन गर्नुभएपछि मौलिक केः प्रस्तुतिसँगै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष विवश थोप्रा लिम्बूले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा कलाकारहरूले वलिहाङ तङनामसँग सम्बन्धित मौलिक मुन्धुमी मिथक प्रस्तुत गर्नुका साथै च्याब्रुङको तालमा नाम्लिङगेक, नारिङगेक तथा भट्यौनी प्रस्तुत गरेका थिए। यस्ता मौलिक सांस्कृतिक प्रस्तुतिले याक्थुङ समुदायको परम्परा, संस्कार, संस्कृति र पहिचानलाई जीवन्त रूपमा उजागर गरेका थिए।

नेपालबाट सांगीतिक यात्राका क्रममा बेलायत आइपुग्नुभएका अतिथि कलाकार लक्ष्मण चोङबाङको विशेष उपस्थिति तथा स्थानीय कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो। कलाकारहरूको प्रस्तुति र सांस्कृतिक झाँकीले सभाहललाई नै वलिहाङ तङनाममय बनाएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव लालहाङ थलङ र माक्सति ओख्रबुले संयुक्त रूपमा गर्नुभएको थियो।

यसरी मौलिक संस्कार, संस्कृति, मुन्धुमी मिथक, संगीत र नृत्यका माध्यमबाट मनाइएको वलिहाङ तङनामले बेलायतमा बसोबास गर्दै आएका याक्थुङ समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्नुका साथै सांस्कृतिक पहिचानको संरक्षण तथा नयाँ पुस्तामा पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo